Sun, 20 Oct, 2019


महोत्तरीमा एउटा क्रुर घटनाः इदको मुखैमा घरबारविहिन बनाइन् जहिरा
फरकधार / साउन २६, २०७६

जनकपुर–  जहिरा खातुन । श्रीमान् मदन शेष रोजगारीका लागि साउदी अरबमा छन् । उनी साउदी अरब गएको अब आठ वर्ष भइसकेको छ । 



चाडवाड मुखैमा छन् । जहिराले विदेश गएका पति यो चाडवाडसँगै फर्किएला आउलान् भन्ने आश त गरेकी थिइनन् तर उनलाई दुई छोरा र चार छोरीसँग घरमै चाडवाडको उत्सव मनाउँला भन्ने चाहिँ थियो ।

उनको त्यो सपना पनि अब चकनाचुर भएको छ ।

किनकि पति विदेश जाँदा लिएको ऋण नतिरेको भन्दै ‘एजेन्ट’ बद्री ठाकुरले घरमा डोजर चलाइदिएका छन् । जहिराको घर उजाडिएको छ । त्यसो त डोजर चलेपछि त्यहाँ घर नै पनि अब बाँकी छैन । उनी त्यही घरको भग्नावशेषको छेउमा पाल टाँगेर बसिरहेकी छिन् । 

‘विस्तारै पैसा दिन्छु भनेको थिएँ,’ जहिराले भनिन्, ‘तर, उनीहरुले मानेनन्, मैले खुट्टामै ढोग्दा पनि मेरो घर भत्काइदिए ।’ जहिराले नजिकै प्रहरी भए पनि आफूलाई सहयोग नगरेको गुनासो गरिन् । 

एकातिर घर भत्काएर सबै अन्न पुरिएको छ भने अर्कोतिर जहिराले आफ्नो तीन लाख पर्ने गहनासमेत ठाकुरले लगेको बताएकी छिन् ।

ठाकुर स्थानीय एजेन्ट हुन् । उनले जहिराका श्रीमान्सँग विदेश पठाइदिन्छु भन्दै सुरुमा २० हजार लिए । पछि फेरि ५० हजार रुपैयाँ लिए । 

‘जसोतसो दियौँ,’ जहिराले भनिन्, ‘पछि ठाकुरले झुक्काएर तमसुक गराए, हामीले ५० हजार रुपैयाँ लिएको बनाए ।’ यसका लागि ठाकुरले जहिराको ससुरालाई प्रयोग गरेको जहिराले बताएकी छिन् ।

त्यसो त ठाकुरमाथि यसअघि पनि आरोप लागेको थियो– उनले जहिरालाई जबरजस्ती गर्न खोजेका थिए । यो घटना ६ वर्षअघिको हो । 

ठाकुरले त्यति बेलाको गल्ती स्वीकार पनि गरेका थिए ।

त्यसपछि जहिराको परिवारसँग ठाकुरले थप शत्रुता गाँसे । उनी जिल्ला अदालतमा मुद्दा हाल्न पुगे । जहिराको परिवारले उनलाई तीन लाख रुपैयाँ पनि दियो । तर, ठाकुरले त्यो पैसा लिन मानेनन् । त्यसपछि जहिरा उच्च अदालत जनकपुर पुगिन् ।

अहिले त्यो मुद्दा विचाराधीन छ ।

यहीबीचमा बारम्बार ठाकुरले जहिराको परिवारलाई दुःख दिइरहे । यसपटक त उनले डोजर नै ल्याएर जहिराको घर भत्काइदिएका छन् ।

‘मेरो सबथोक सकियो,’ जहिराले भनिन्, ‘अब म कहाँ जाऔँ ?’
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्