डा‍. केसीको चेतावनी : विश्वविद्यालयमा दलीय भागबन्डाका आधारमा नियुक्ति गरिए जस्तोसुकै आन्दोलन गर्ने

काठमाडौं– स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि भन्दै लामो समयदेखि डा गोविन्द केसीले विश्वविद्यालयका नियुक्तिमा दलीय भागबन्डा भए जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएक छन् । विश्वविद्यालयलगायत सार्वजनिक संस्थामा दलीय भागबन्डा नभई योग्यता र वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्छ भन्ने आफ्नो मागमा सरकारले पटकपटक सम्झौता गरेको स्मरण गराउँदै उनले यस्तो चेतावनी दिएका हुन् । 

‘वर्षौंको अलमल र बेवास्तापछि पछिल्लो समय ‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’ले त्यस्ता मापदण्डसम्बन्धी सुझाबसमेत सरकारलाई दिइसकेको छ,’ डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल चलिरहेको दलीय भागबन्डाको मुसा–दौड रोकेर उक्त प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई यसअगाडि स्मरण गराएकोमा फेरि  ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ 

साथै सरकारद्वारा गठित न्यायिक जाँचबुझ आयोग वा समितिले दोषी ठहर गरेका व्यक्तिलाई कुनै पनि हालतमा विश्वविद्यालयमा नियुक्त नगर्न पनि उनले ध्यानाकर्षण गराएका छन् । त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएको र फेरि भागबन्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद कुरा हुने उल्लेख गर्दै विज्ञप्तिमा उक्त कदम सच्याएर योग्यताका आधारमा नयाँ नियुक्ति गर्न पनि आग्रह गरिएको छ । 

केसीले चिकित्सा शिक्षा आयोगले पूर्णता नपाएको बहाना देखाई केही मेडिकल कलेज र प्रतिष्ठानले एम्बिबिएसको भर्ना प्रक्रिया सुरु गरेकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सो भर्ना प्रक्रिया रद्द गरी ऐनमा समावेश भएअनुसारको  ७५ प्रतिशत छात्रवृत्ति, साझा प्रवेश परीक्षालगायत कार्यन्वयन गरेर मात्रै भर्ना प्रक्रिया सुरु गर्न उनले जोडदार माग गरेका छन् । 

आफूसँग भएको सम्झौताअनुसार इलाम, पाँचथर, उदयपुर, डोटी, डडेल्धुरालगायत प्रदेश नं २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउन माग गर्दै केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएसलगायत कार्यक्रम सुरु गर्न ध्यानाकर्षण गराएका छन् । 





  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार १७:५३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया