नेपथ्यको इद र जनैपूर्णिमा कतारको दोहामा

दोहा– दोहाको आकाशमा जसै बाह्रौँ दिनको चन्द्रमा देखियो, मञ्चको चम्किलो विशाल पर्दामा घडीको दृश्यसहित नेपथ्य प्रस्तुतिको संकेत सुरु भयो ।

मुस्लिम पात्रोअनुसार अन्तिम महिनाको एघारौँ र बाह्रौँ दिन बलिदानको पर्व मनाइने गरिन्छ । यस दिनलाई मुसलमान समुदायले ‘इद अल अदा’का रुपमा हर्षोल्लासपूर्वक मनाउने गर्छन् । ‘इद अल अदा’ अर्थात् बलिदानको पर्व वा यसलाई ‘इद कुर्बान’ भनेर पनि मान्ने गरिन्छ । यो इस्लाम धर्मावलम्बीको वर्षभरिकै मुख्य दुईमध्ये एक ठूलो उत्सव हो ।

हजरत इब्राहिम (अब्राहम)ले ईश्वरको आज्ञा पालन गर्दै आफ्नै छोरा हजरत इस्माइलको बलिदान दिन तयार भएको परिस्थितिको सम्मानमा यो पर्व मनाउने गरिएको छ । यद्यपि, छोराको बलिदान दिनुअगावै ईश्वरले भेडाको बलि चढाउन लगाएको मान्यता छ । 

ईश्वरले यसरी हजरत इब्राहिमका छोरालाई जीवनदान दिएको उपलक्ष्यमा पशुको बलिदान गर्दै यो पर्वलाइ मनाउँदै आइएको छ, जसमा बलिको एउटा हिस्सा गरिब र खान नपाउनेलाई वितरण गर्नुपर्ने हुन्छ । अर्को घरमा राखिन्छ भने तेस्रो हिस्साचाहिँ आफन्तलाई बाँड्नुपर्ने प्रचलन छ ।

दोहाको ‘एसियन टाउन एम्पिथिएटर’को मञ्चमा आइतबार बेलुकी चढ्नेबित्तिकै हजारौँ दर्शकको बीच नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुरुमा एकछिनसम्मै चन्द्रमातर्फ हेरे । ‘बहुसांस्कृतिक विविधताले यो संसारलाई नै एउटा रमाइलो गाउँ बनाएको छ,’ आकाशतिर सोझिएको नजर दर्शकदिर्घामा घुमाउँदै उनले भने, ‘आफ्नो कक्षमा बाह्रौँ दिन यात्रा गरेपछि यो चन्द्रमाले मुसलमान समुदायमा इद पर्व ल्याइरहेको छ भने अबको तीन दिनमा यसै चन्द्रमाले पूर्ण आकार लिएर हाम्रो हिन्दूबहुल नेपाली समुदायमा भने जनैपूर्णिमा ल्याइदिनेछ ।’



गाउन सुरु गर्नुअघि अमृतले  ‘इद मुबारक’ भन्दै तमाम दर्शकका निम्ति जनै पूर्णिमाको शुभकामना पनि बोकेर ल्याएको जानकारी गराए । ‘जनै पूर्णिमाको वेला नेपालका धेरै मानिस लाङटाङ क्षेत्रमा पर्ने गोसाइकुण्डको तीर्थ गर्न जाने गरेका छन्,’ उनले थपे, ‘आजको कन्सर्टको सुरुवात हामीले त्यसै क्षेत्रबाट संकलन गरेर तयार पारेको गीतबाट गर्दै छौँ ।’ 



त्यसपछि जसै दोहाको उखरमाउलो गर्मीमा अमृतले ‘भेडाको उनजस्तो’ गाउन सुरुगरे, गीतले हजारौँ दर्शकमा उत्साहको सञ्चार गराएको देख्न सकिन्थ्यो ।
कन्सर्टमा लगातार नेपथ्यको सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’जस्ता गीतहरु बजेका थिए ।

‘मै मरी जाउँला जीवन छोट्टो छ

लेखेको सम्झना चेत्तेर नफाल

सिरानमा फोटो छ’
 
केही वर्षअघि तयार पारेको यो गीतलाई नेपथ्यले रोजगारीका निम्ति प्रवासिएका नेपाली कामदारहरुमै समर्पित गर्दै म्युजिक भिडियो तयार पारेको थियो ।  गीतमा खाडीको दूरदेशमा बसेर श्रम गरिरहेका तन्नेरी र नेपालको कतै पहाडमा बसेर उनलाई याद गरिरहेकी प्रियसीका भाव झल्काउन खोजिएको छ ।

फेरि उनले  ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’, ‘जोगले हुन्छ भेट’, ‘हामी नेपाली’, ‘यो जिन्दगानी’ हुँदै गायन अघि बढाए । त्यसपछि  ‘कोशीको पानी’ हुँदै ‘रेशम’  ‘गाउँ गाउँबाट उठ’ ‘हिमाल चुचुरे’, ‘मै नाचेँ छमछमी’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’मा पुगेर कार्यक्रम टुंगिएको थियो ।

नेपथ्यले आफूलाई दोहाको मञ्चमा प्रस्तुत गरेको यो दोस्रोपटक हो । यो कार्यक्रम लेभल एफ.एन. एडभर्टाइजिङ, कास्की आदर्श सेवा समाज र रामनगर ठिमुरा समाजको सहआयोजनमा सम्पन्न भएको हो ।  

गायक अमृतलाई ब्यान्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा नीरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

  • प्रकाशित मिति : साउन २८, २०७६ मंगलबार १८:१४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया