काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले उद्यमशीलतातर्फ अग्रसर हुन युवाहरुलाई आग्रह गरेका छन् । युवा परिषद्ले आज राजधानीमा गरेको ‘युवा उद्यमी सम्मेलन’लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले युवा उद्यमशीलताको विकासका लागि सरकारले ‘च्यालेन्ज फन्ड’लाई कार्यान्वयनमा ल्याउन लागेको बताए । यो फन्डबाट वार्षिक ६० हजार नयाँ उद्यमीलाई जनही ५ लाख ‘सिड मनी’ दिने उनको योजना छ ।
‘२–५ लाखको अभावमा व्यवसाय गर्न सक्नुभएन भने, तपाईंको राम्रो बिजनेस आउनेवाला छ भने, त्यसमा हामीले गर्नुपर्ने सहयोग गर्छौं,’ सम्मेलनमा सहभागी युवालाई सम्बोधन गर्दै उनले भने, ‘गत वर्षको बजेटमा च्यालेन्ज फन्ड आयो, कार्यान्वयन गर्न सकिएन । यो वर्ष कार्यविधि बनेको छ । त्यसलाई मन्त्रिपरिषद्बाट पास गरेर अर्को महिनाबाट कार्यान्वयनमा ल्याउँदै छौँ ।’
युवामा उद्यमशीलताको विकास गर्न प्राविधिक ज्ञान र सीप आवश्यक पर्ने भन्दै उनले अहिलेको साधारण शिक्षा प्रणालीलाई प्राविधिक शिक्षामा स्थानान्तरण गर्ने योजना सुनाए ।
‘हामीले विस्तारै शिक्षा प्रणालीको ट्रान्सफरमेसन गर्न लागेका छौँ,’ अर्थमन्त्री खतिवडाले भने, ‘अहिलेको मूलधारको शिक्षा साधारण शिक्षा नै हो । साधारण शिक्षा केही हदसम्म व्यावसायिक शिक्षामा जाँदै छ । अब हामीले वैज्ञानिक र प्राविधिक धारको शिक्षालाई विकास गरेर लानु छ । शिक्षासँगसँगै सीपको विकास आवश्यक छ । एउटा व्यवसाय गर्न सक्ने सीपको लागि इन्टर्नसिपको माध्यमबाटै भए पनि उद्यमी बनाउने वातावरण बनाउन आवश्यक छ ।’
‘विद्यार्थीलाई पढ्दा नै कुनै औद्योगिक प्रतिष्ठानमा सिकाउन लैजाने व्यवस्था गर्नुपर्छ । प्रतिष्ठानमा नभए उद्योगमा भए पनि लैजानुपर्छ । यसरी, पढेको कुरालाई व्यवहारमा उतार्न जरुरी छ,’ उनले थपे ।
अब युवापुस्ताका लागि कृषिमा पनि रोजगारी सिर्जना गर्न आवश्यक रहेको उनले बताए । युवा तथा महिलालाई आकर्षित गरेर उद्यमको विकास गर्ने प्रयासमा आफू रहेको भन्दै उनले यसबाट कृषि क्षेत्रको वरिपरि अत्यन्तै धेरै उद्यमशीलताको अवसर सिर्जना हुने बताए ।
नयाँ व्यवसाय गर्दा कानुन नपढी, ढंग नपुर्याई काम गरे अप्ठेरोमा परिने भन्दै उनले नवउद्यमीहरुलाई सचेत गराए । ‘कहीँ न कहीँ तपाईं कानुनको दायरामा आउनै पर्छ । राज्य पनि कानुनले नै चल्ने हो,’ अर्थमन्त्री खतिवडाले भने, ‘एकपटकको लागि मैले के व्यवस्था गरेको छु भने यदि तपाईंले झुुक्किएर, नजानेर कुनै किसिमले अनौपचारिक व्यवसाय गर्नुभएको छ भने, कर प्रणालीमा दर्ता भएर सम्बन्धित निकायबाट स्वीकृति लिनुभएको छैन भने अब औपचारिक हुनका लागि मौका छ । त्यसको फाइदा उठाउनुहोला ।’
उद्यमीहरुलाई ‘सिड मनी’का रुपमा बैंकमार्फत ५ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउन लागेको उनले जानकारी दिए । यसमा बैंकहरुले आनाकानी गरिरहेको भन्दै अर्थमन्त्री खतिवडाले आफ्नो सामाजिक उत्तरदायित्व नभुल्न बैंकहरुलाई सचेत गराए ।
राज्यले सहकारी मोडलको उद्यमलाई प्राथमिकतामा राखेको र यस्ता उद्यमलाई २५ देखि ५० प्रतिशत अनुुदान दिने कुरा भइरहेको भन्दै उनले युवाहरु मिलेर सहकारीको मोडलमा उद्यम गर्न प्रोत्साहन गरे ।
व्यवसाय गर्दा नियम कानुन मानेर ‘फेयर बिजनेस’ गर्नुपर्ने दोहोर्याउँदै उनले अनफेर बिजनेसले फेयर बिजनेससँग प्रतिस्पर्धा गर्ने समस्या नहोस् भनेर नियमनमा कडाइ गर्न लागेको बताए । अन्त्यमा उनले फेयर बिजनेस गर्नेलाई राज्यले गर्ने सहयोग सदैव रहने आश्वासन पनि दोहोर्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।