कस्मिरमा भारत–पाक गोली हानाहान, ३ पाकिस्तानी सैनिकको मृत्यु, ५ भारतीय सैनिक मारिएको पाकिस्तानको दाबी

इस्लामावाद– कस्मिरस्थित भारत र पाकिस्तानबीचको सीमाक्षेत्र ‘लाइन अफ कन्ट्रोल’ (एलओसी) मा भारतीय सेनासँग गोली हानाहान हुँदा ३ पाकिस्तानी र ५ भारतीय सैनिककाे मृत्यु भएको पाकिस्तानले बताएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आशिफ गफुरले केहीबेरअघि ट्विट गर्दै दोहोरो गोली हानाहानमा ३ पाकिस्तानी सैनिकले ‘सहादत पाएको’ उल्लेख गरेका छन् भने ५ भारतीय सैनिक मारिएका दाबी गरेका छन् । 

ट्विटमा गफुरले जम्मु कस्मिरको खराब अवस्थाबाट ध्यान मोड्न भारतीय सेनाले एलओसीमा गोलाबारी गरेको भन्दै पाकिस्तानी सेनाले पनि प्रभावकारी ढंगले आक्रमणको जवाफ दिएको बताएका छन् । उनका अनुसार, थुप्रै भारतीय सैनिक घाइते भएका छन् भने उनीहरुका बंकरसमेत ध्यस्त भएका छन् ।

एलओसीमा दुईपक्षबीच भएको युद्धविरामको सम्झौतालाई तोड्दै गोलाबारी भएको हो । रिपाेर्टअनुसार, साे क्षेत्रमा अहिले पनि गाेलाबारी भइरहेकाे छ । 

समाचार एजेन्सी एएनआईसहित भारत केन्द्रित मिडियाले भने भारतीय सेनाले ५ भारतीय सैनिक मारिएकाे पाकिस्तानी सेनाकाे दाबीकाे खण्डन गरेकाे बताएका छन् । केही सैनिक घाइते भएकाे भने भारतले पनि स्वीकारेकाे छ ।



५ अगस्टमा भारतले आफू प्रशासित जम्मु–कस्मिरलाई ७० वर्षदेखि दिइएको विशेष राज्यको मान्यता खारेज गरेर जम्मु–कस्मिर र लद्दाखलाई दुई केन्द्र शासित प्रदेश बनाएपछि भारत–पाक तनाव बढेको छ । पाकिस्तानले भारतको सो निर्णय एकपक्षीय र गैरकानुनी भएको भन्दै कडा आलोचना गरेको छ । भारतमाथि दबाब बनाउन उसले अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत गुहारिरहेको छ ।



यसै दौरान भारतसँग कूटनीतिक सम्बन्ध तोडेको पाकिस्तानले भारतको यो निर्णयविरुद्ध जुनसुकै हदसम्म पनि जान सक्ने बताउँदै आएको छ ।

  • प्रकाशित मिति : साउन ३०, २०७६ बिहीबार २१:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया