नेकपामा पूर्वएमालेको पल्लाभारी, वामदेव उपाध्यक्ष स्कुल विभागमा ईश्वर पोखरेल

काठमाडौं– शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्षमा वामदेव गौतम र स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेललाई चयन गरेको छ । स्कुल विभाग प्रमुखका लागि लामो समयसम्म विवाद थियो भने विधानमा उपाध्यक्ष पद नरहे पनि सचिवालयले निर्णय गरेर स्थायी कमिटीमा पठाएको हो ।

स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेसँगै सो पदका अर्का आकांक्षी नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । स्कुल विभाग प्रमुखका लागि यसअघि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, वेदुराम भुसालसहित आठजनाले दाबी गरेका थिए । 

स्कुल विभागको प्रमुखको टुंगो लगाउन शुक्रबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गम्भीर छलफल भएको थियो । छलफलमा स्कुल विभागसँगै उपाध्यक्ष पद सिर्जना गर्ने सहमति भएको स्रोतको भनाइ छ । सोही छलफलपछि सचिवालयको बैठकले वामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरेको हो । 

गौतमलाई उपाध्यक्ष बनाउन अध्यक्षओलीले नै प्रस्ताव गरेका थिए । दुई पार्टी एकतासँगै ओलीसँग टाढिएका र प्रचण्डसँग निकट भएका गौतम पछिल्लो समय ओलीसँगै नजिकिन पुगेका थिए । गौतमले पछिल्ले समय जनताको बहुदलीय जनवाद (जबज)को पक्षमा आवाज उठाउँदै आएका थिए ।  

गौतमलाई फकाउन ओलीले गत मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर रात्रिभोजसहित छलफल गरेका थिए । ओलीले कास्की २ को उपचुनावमा उम्मेदवार बन्नसमेत गौतमलाई प्रस्ताव गरेका छन् ।





  • प्रकाशित मिति : साउन ३१, २०७६ शुक्रबार १५:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया