भरतपुर– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानेलगायत अन्य दुईलाई प्रहरी नियन्त्रणमा लिएपछि चितवनमा प्रदर्शनहरु बढ्न थालेका छन् ।
शालिकराम पुडासैनीको ‘सुसाइड नोट’ मानिएको भिडियोमा लामिछाने, पत्रकार युवराज कँडेल र नर्सिङ पेशामा आवद्ध अस्मिता कार्कीलाई बिहिबार प्रहरीले गिरफ्तार गरि चितवन पुर्याएको थियो । शुक्रबार चितवन अदालतले यी तिनै जनालाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग छ ।
प्रहरीले पक्राउ गरेर लामिछानेलगायत तिनै जनालाई चितवन पुर्याएसँगै भरतपुरमा रवि लामिछानेका समर्थकहरुले चर्को नाराबाजी गरेका थिए । चितवन जिल्ला प्रहरी कार्यालय घेर्न पुगेका प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्याँस समेत प्रहार गर्नु परेको थियो ।
उनीहरुले लामिछानेलाई अनहाकमा दुःख दिन पक्राउ गरिएको भन्दै लामिछानेलाई तत्काल छोड्न आवाज उठाइरहेका छन् ।
अर्कोतिर, चितवनमा नै शनिबार लामिछानेका समर्थकले गरेको प्रदर्शनको विरोध गर्दै अर्को एउटा समूहले प्रदर्शन गरेको छ । ‘स्वतन्त्र युवा समूह’ नाममा यो समूहले लामिछानेका समर्थकले चर्को प्रदर्शन गरेर अनुसन्धानलाई प्रभावित गर्ने प्रयास गरेकोमा आपत्ति जनाएको छ ।
शनिबार विहान चौबिसकोठीमा प्रदर्शन गर्दै यो समूहले पुडासैनीले पनि न्याय पाउनु पर्ने आवाज उठाएको छ । प्रदर्शनीमा सहभागीहरुले ‘निष्पक्ष छानबिन हुन दिनु पर्ने,’ ‘अपराधलाई राजनीतिकरण बन्द गर्नुपर्ने’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।