उपचुनाव जिताएर एकताको सुरुआत गर्न पार्टी नेता तथा कार्यकर्तालाई कांग्रेसको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मंसिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको सुरुआत गर्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । 

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार आयोजना गरेको महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पार्टीबाट जसले टिकट पाउँछ त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए । 

‘हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु (एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी (कांग्रेस) त्यस्तो हुने छैन,’ उनले भने, ‘यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको सुरुआत हुन्छ ।’     

सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको छ, आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको बताए । स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व कांग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उनले प्रजातन्त्रसहितको समाजवादमा कांग्रेस स्पष्ट रहेको बताए । 

सो अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवं भरोसाका साथ दुईतिहाइ बहुमत दिएकामा यतिखेर जनता निराश भएको दाबी गरे । नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उनले जनताको चाहनालाई कांग्रेसले पूरा गर्नुपर्ने बताए । 

पार्टीभित्रको गुटबन्दीले कांग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह गरे । लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै उनले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिए । 



प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ संगठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उनले विश्वास व्यक्त गरे । 

अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कांग्रेसका लागि नयाँ चेतना आवश्यक भएको बताए । विसं २००७ यताका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले आगामी दिनमा पनि संविधान एवम् प्रजातन्त्रको रक्षार्थ आफूलाई सशक्त रुपमा अघि बढाउने उनको भनाइ थियो । 



  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार १५:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया