वामदेव गौतमलाई केपी ओलीकै प्रस्ताव– कास्की २ बाट निर्वाचन लड्नुस् !

काठमाडौं– पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नेता वामदेव गौतमको पल्ला भारी हुँदै गएको छ । शुक्रबारको सचिवालय बैठकमा गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राखे । यसलाई सचिवालय बैठकमा सहजै स्वीकार गरियो । 

तर, वामदेव गौतम यो परिस्थितिमा सहजै पुगेका होइनन् । यसअघि २०७४ सालमा भएको निर्वाचनमा पराजित भएपछि पार्टी एकताको काममा विशेष भूमिका निर्वाह गरे पनि गौतमसँग त्यस्तो महत्वपूर्ण कुनै जिम्मेवारी थिएन । समयसमयमा उनले पार्टीका कार्यकर्ताहरुसँगै आफू भूमिकाविहिन भएको गुनासो गर्ने गर्थे ।

विशेष काम नपाएपछि उनी कति रुष्ट भएका थिए भने आफ्नै कार्यकर्तासँग पनि उनी खुलेर कुरा गर्दैनथे । आफूलाई एक्लाइएको निचोडमा उनी पुगेका थिए । 

‘हिजो उहाँलाई उपाध्यक्ष बनाउने निर्णय जुन आएको छ, त्यसले उहाँमा ऊर्जा थपिएको छ,’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘यसले पार्टीलाई अझ बलियो बनाउँदै लैजाने हामीले विश्वास लिएका छौँ ।’

तर, यतिमात्र होइन, वामदेव गौतमलाई नेकपा भित्रैबाट अर्को सरप्राइज पनि आउने भएको छ । तत्कालीन पर्यटनमन्त्री समेत रहेका कास्की २ का सांसद् रवीन्द्र अधिकारीको ६ महिनाअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीमा रहेको रिक्त स्थानमा वामदेव गौतमलाई नै उम्मेदवार बनाउने तयारी सुरु भएको छ । 

यसलाई शुक्रबारको नेकपा सचिवालय बैठकले पनि प्रमाणित गरेको छ । स्वयं वामदेव गौतमले सन्चारमाध्यमहरुसँग भन्न थालेका छन्, ‘अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रस्ताव गर्नुभयो, कास्की २ बाट निर्वाचन लड्नका लागि ।’ यतिमात्र होइन, गौतमले अन्य शीर्ष नेताहरुले पनि आफूलाई यो सल्लाह दिन थालेको बताउन थालेका छन् । 



यसअघि रवीन्द्र अधिकारीको निधनलगत्तै उक्त स्थानबाट वामदेव चुनाव लड्न खोज्दैछन् भन्ने चर्चा चलेलगत्तै गौतमले विज्ञप्ति नै जारी गरेका थिए– म उक्त स्थानबाट चुनाव लड्दिनँ । 

तर, अब समय फेरिएको छ । 



‘अब वामदेव गौतम उम्मेदवार हुने सम्भावना एक नम्बरमा छ भने अरु नेताहरुको नाम विस्तारै छायाँमा पर्दै गएको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘कास्कीमै पनि अधिकांश नेताहरु अहिले पहिले वामदेव गौतमको नाम लिन थालेका छन्, त्यसपछि मात्र अन्य नेताहरुको चर्चा आउन थालेको छ ।’

रवीन्द्रपत्नी विद्या भट्टराईले कास्कीबाट उम्मेदवारी दिने वा नदिने विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । नेकपाका केन्द्रीय सदस्यसमेत रहेका कास्कीका एक नेताले भने, ‘बाहिर निकै धेरै हल्ला आइसकेको छ तर वास्तवमा यो विषयमा पार्टीमा न स्थानीय स्तरमा न केन्द्रमा नै कुनै औपचारिक वार्ता भएको छ ।’ उनले विद्यासँग यस विषयमा पार्टीले औपचारिक छलफल नगरेको र उनी राजनीतिमा आउने सम्भावना पनि कम रहेको नेकपाका कास्की नेताहरुको बुझाइ रहेको बताउँछन् ।

यता, नेपाल कम्युनिस्ट पार्टीको विधानले नै परिकल्पना नगरेको पद वामदेव गौतमलाई दिइएको छ । अहिले नेकपाको विधानमा उपाध्यक्षको कुनै परिकल्पना छैन । 

‘विधानमा भएको कुरा त सामान्य संसोधन गर्न सकिने कुरा हो,’ नेकपाका एक नेताले भने, ‘तर, अहिले वामदेव कमरेडलाई उपाध्यक्षको पद सिर्जना गरिनुले नेकपामा भएको समीकरणमा ठूलो फेरबदल हुन लागेको संकेत गर्छ ।’

यसलाई पार्टीमा माधव नेपाललाई कमजोर बनाउने रणनीतिका रुपमा पनि नेकपाभित्र विश्लेषण सुरु भइसकेको छ । ‘वामदेव कमरेडलाई लिएर प्रचण्ड र केपी ओली एकातिर हुँदा स्वतः माधव कमरेड कमजोर हुनुहुन्छ,’ ती नेताले फरक धारसँग भने, ‘त्यसैले पनि वामदेव कमरेडलाई उपाध्यक्ष बनाएर आफ्नो पक्षमा पारिएको हुनसक्छ ।’

  • प्रकाशित मिति : साउन ३२, २०७६ शनिबार १७:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया