भारी वर्षाको बेवास्ता गर्दै हङकङमा आन्दोलन

एजेन्सी– आइतबार हङकङमा निकै ठूलो पानी पर्यो । ११ सातादेखि भइरहेको प्रदर्शनलाई त्यो पानीले डिस्टर्ब गर्ला भन्ने धेरैको अनुमान थियो । तर, वर्षाको बेवास्ता गर्दै प्रदर्शनकारी भिक्टोरिया पार्क पुगे । उनीहरुको हातमा छाता थियो जसलाई त अब हङकङ विरोधको प्रतीकका रुपमा लिन थालिसकिएको छ । 

प्रदर्शनकारीलाई सहरका पार्कहरुमा र्याली गर्ने अनुमति प्रशासनले नै दिएको छ । तर, उनीहरु सहरका सडकमा जान पाउँदैनन् । तर, आइतबारको प्रदर्शनमा यति धेरै मानिसहरु थिए कि उनीहरु पार्कमा मात्र अटाएनन्, पूरै सडकमा पनि उनीहरु देखिए । 

विरोध प्रदर्शनको आयोजना गर्ने समूह सिभिल ह्युमन राइट्स फ्रन्टका एक अधिकारीले भनेका छन्, ‘हङकङका जनताको सबै माग जबसम्म पूरा हुँदैनन्, तबसम्म प्रदर्शन भइरहनेछ ।’

उनले अहिलेको प्रदर्शन दबाउन सरकारले सुरक्षाबल तैनाथ गर्दा हङकङको भविष्य नै खतरामा पर्न सक्नेसमेत बताए । 

उता, चीनले यो विषयमा अब हङकङमा प्रदर्शन जारी रहेमा उसले एक्सन लिने बताएको छ । यही सातामात्र चीनले यो विरोध प्रदर्शनलाई चरमपन्थी गतिविधि बताएको छ । 



अर्कोतिर हङकङ आन्दोलन ११ औं सातामा पुग्दा विश्वका अन्य देशमा पनि हङकङको समर्थनमा विरोध प्रदर्शन सुरु हुन थालेका छन् । अष्ट्रेलियाको मेलबर्नमा पनि प्रदर्शनकारीहरुले र्याली निकालेका थिए । उता, लन्डनमा पनि अब हङकङको समर्थन र चिनियाँ अधिकारीको विरोधमा प्रदर्शन सुरु हुन थालेका छन् । 

हङकङमा ११ साता देखि विवादित सुपुर्दगी विधेयकको विरोधमा यो प्रदर्शन भएको हो । यो विधेयकअनुसार हङकङका मानिसलाई मुद्दा चलाउन चीनमा सुपुर्दगी गर्न सकिने व्यवस्था बन्दै थियो । यो विधेयक अहिलेका लागि हङकङ सरकारले फिर्ता लिएको त जनाएको छ । तर, प्रदर्शनकारीले यसलाई पूर्णरुपमा खारेज गर्नु पर्ने माग राख्दै आएका छन् । 



  • प्रकाशित मिति : भदौ २, २०७६ साेमबार ९:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया