एजेन्सी– आइतबार विहान अन्तर्राष्ट्रिय सन्चारमाध्यममा अफगानिस्तानमा भएको एक आक्रमणको समाचार निकै प्राथमिकताका साथ छापियो । त्यो आत्मघाती विस्फोटको समाचार थियो र विस्फोट विवाहस्थलमा गरिएको थियो ।
जसको विवाह भइरहेको ठाउँमा विस्फोट भएको थियो, ती थिए मिर्वाइस इल्मी ।
इल्मी र उनकी श्रीमतीलाई विस्फोटमा केही भएन । तर, उनले आफ्ना भाइ र अन्य नातेदार गुमाए । त्यो विस्फोटमा ६३ जनाको मृत्यु भएको थियो ।
‘मैले अब सब आश मारिसकेको छु,’ मिर्वाइसले एक अन्तर्वार्तामा भनेका छन्, ‘अब म मेरो जीवनमा खुसियाली कहिल्यै पाउने छैन ।’
१ सय ८० जनाभन्दा धेरै घाइते भएको यो विस्फोटलाई अफगानिस्तानका राष्ट्रपति असरफ घानीले कायर तथा क्रुर आक्रमणको संज्ञा दिएका छन् ।
उनले तालिवानले एउटा प्लेटफर्म उपलब्ध गराएकाले यो आक्रमण भएको बताउँदै तालिवानलाई पनि यसको दोष दिएका छन् । विस्फोटको जिम्मेवारी भने इस्लामिक स्टेट नामको चरमपन्थी संगठनले आफूले गराएको भन्दै जिम्मेवारी लिएको छ ।
टोलो न्युजलाई दिएको अन्तर्वार्तामा चाहिँ मिर्वाइस इल्मीले भनेका छन्, ‘मेरो परिवार, मेरी श्रीमती होसमा छैनन्, उनीहरु क्ुरा गर्न सक्दैनन्, मेरी श्रीमती बारम्बार फेन्ट भइरहेकी छिन् ।’
‘म केही गर्न सक्दिनँ, मैले सबैथोक गुमाएको छु,’ उनले भनेका छन्, ‘भाइ, साथी, नातेदार र आशा पनि अब मैले गुमाइसकेको छु ।’
यो आक्रमण सिया मुस्लिमको बाहुल्यता भएको ठाउँमा भएको थियो ।
तालिवानले पनि यो आक्रमणको भत्र्सना गरेको छ । तर, असरफ घानीले यसका लागि तालिवान पनि जिम्मेवार भएको बताएका छन् । अर्कोतिर अहिले तालिवान र अमेरिकाबीच विभिन्न चरणमा वार्ता भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।