कस्मिरको मुद्दा लिएर हेग जाँदै पाकिस्तान !
हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयको सुनुवाइ कक्ष

इस्लामावाद– जम्मु–कस्मिरको विषयलाई पाकिस्तानले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा लैजान लागेको पाकिस्तानी मिडियाले बताएका छन् ।

रिपोर्टअनुसार, भारत प्रशासित जम्मु–कस्मिरलाई ७० वर्षदेखि दिइआएको विशेष राज्यको मान्यता खारेज गर्ने भारत सरकारको निर्णयविरुद्ध पाकिस्तान सरकारले इन्टरनेसनल कोर्ट अफ जस्टिसमा उजुरी दिने तयारी गरिरहेको छ । 

५ अगस्टमा भारतले आफू प्रशासित जम्मु–कस्मिरलाई ७० वर्षदेखि दिइएको विशेष राज्यको मान्यता खारेज गरेर जम्मु–कस्मिर र लद्दाखलाई दुई केन्द्र शासित प्रदेश बनाएपछि भारत–पाक तनाव बढेको छ । पाकिस्तानले भारतको सो निर्णय एकपक्षीय र गैरकानुनी भएको भन्दै कडा आलोचना गरेको छ । भारतमाथि दबाब बनाउन उसले अन्तर्राष्ट्रिय क्षेत्रलाई समेत गुहारिरहेको छ ।

पाकिस्तानले यो विषयमा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुलाई यसअघि नै गुहारिसकेको छ । पाकिस्तानकै आग्रहमा चीनले यसै विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को गुप्त बैठक डाकेको थियो । सो बैठक विनानिष्कर्ष टुंगिएको समाचार भारतीय मिडियाहरुमा आइरहेका छन् । 

यसै दौरान भारतसँग कूटनीतिक सम्बन्ध तोडेको पाकिस्तानले भारतको यो निर्णयविरुद्ध जुनसुकै हदसम्म पनि जान सक्ने बताउँदै आएको छ ।

७० वर्षअघि छुट्टै राज्य रहेको जम्मु–कस्मिर अहिले भारत, पाकिस्तान र चीन नियन्त्रित ३ भागमा विभाजित छ । भारत र पाकिस्तान दुवैले पूरै कस्मिरमाथि दाबी राख्दै आएका छन् । कस्मिरकै विषयलाई लिएर भारत–पाक युद्धसमेत भएका छन् । 





  • प्रकाशित मिति : भदौ ३, २०७६ मंगलबार २२:१५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया