Fri, 20 Sep, 2019


कमनरकाे कथा
‘बाहुन क्षेत्रीले हाम्रो काम गर्न थाले, हामी मारमा परिरह्यौँ’
फरकधार / भदौ ६, २०७६
दलबहादुर परियार

काठमाडौं– काठमाडौंको आधाउधी जीवनका तरंगहरु प्रदर्शनी मार्गमा रहेको आरआर कलेज वरपर देख्न सकिन्छ । 



यो क्षेत्रमा ‘सामान्य काम’ गर्नेदेखि ‘ठिकैका काम’ गर्नेहरु र आफ्नै व्यवसाय गर्नेहरु भेटिन्छन् । 

आफ्नो जीवनलाई अगाडि बढाइरहन यही क्षेत्रमा कम्तिमा पनि आठ वर्षदेखि बसिरहेका छन्, दलबहादुर परियार । परियार विहान सात बजेभित्र आरआर कलेजको ठ्याक्कै पछाडि सडक पेटीमा आइपुग्छन्, अनि कलकल आफ्नो मेसिन चलाउन थाल्छन् । 

उनको मुख्य काम हो– कपडा मिलाउने । 

‘काटकुट पारेर कपडा बढाउने र घटाउने काम गर्छु,’ सिलाइ मेसिनको ह्यान्डललाई हल्का घुमाउँदै दलबहादुरले कुराको सुरुवातमै भने, ‘अब त यही मेसिनमा जीवन सकिने भयो ।’

तर, दलबहादुरको आफ्नै मेसिन होइन यो । उनले भाडामा लिएका हुन् । दैनिक पचास रुपैयाँ तिरेर उनले यो मेसिन प्रयोग गर्न पाउँछन् । र, यसका मालिक हुन्, दलबहादुरको मेसिन पछाडि रहेको कपडा पसल । 

‘काठमाडौंमा यो काम सुरु गरेको २० वर्ष भइसक्यो,’ दलबहादुरले भने, ‘तर, आजसम्म मैले आफ्नै मेसिन किन्न सकेको छैन ।’

अरुको शरीरअनुसार कपडाको साइज घटबढ गरिदिने दलबहादुरले आफ्नो जीवनको नियतीमा त्यस्तो ठूलो घटबढ गर्न कहिल्यै पाएनन् । 

६० वर्षअघि दोलखामा जन्मिएका उनले सानैदेखि यस्तै टुक्राटाक्री कपडासँग खेल्न सिके, तीनलाई गाँठो पारेर तन्काउने काम पनि गरे । 

‘हामी दलित समुदायका केटाकेटी कहाँ पाएर स्कुल जानु ?’ उनले लामो सास फेरे, ‘घरमा पढाउन सक्ने हैसियत हुँदैनथ्यो, छिमेकले पनि पढ्नु पर्छ भन्दैनथे ।’

पढ्न पाएको भए के गर्थे होलान् त दलबहादुर ?

‘कम्तिमा पनि पसलको अगाडि सडक पेटीमा यसरी कपडा सिलाएर बस्ने थिइनँ,’ उनले भने, ‘केही काम गर्थेँ होला, जागिर खान्थेँ होला, यो जीवन अलिक राम्रो बनाउँथे होला ।’

त्यसपछि दलबहादुर फर्किए, उनी दश वर्षको हुँदाको समयमा । 

त्यति बेला उनको घरमा एउटा सिलाइ मेसिन थियो । उनका बाबुले गाउँमा सिलाइकटाइ गरेर जीविको धानिरहेका थिए, परिवार पालिरहेका थिए । दलबहादुर पनि १० वर्षको हुँदा त्यही मेसिनको संगतमा पुगे । 

‘३ वर्षमा त राम्रो सिलाउने भइसकेको थिएँ,’ उनले भने, ‘पछि अलिक ठूलो भएपछि गाउँमा सिलाइ गरेर जीवन धान्न नसक्ने भएकाले त्यहाँ छोडेँ, काठमाडौं आएँ ।’

गाउँमा दलबहादुरले अन्यायको अनुभूत गरेका थिए । 

‘वर्षभरी कपडा सिलाएर केही अन्नपानीमात्र पाइन्थ्यो,’ उनले भने, ‘कुनै कुनै घरमा कहिलेकांही माया गरेर केही सागसब्जी दिन्थे, अनि वर्षभरिमा एकपटक खर्च उठाउन गइन्थ्यो ।’

तर, त्यसले दलबहादुरको जीवनलाई सहज बनाएको थिएन । 

उनी ‘विद्रोह’ गर्नुपर्छ भन्दै मनमनै कुरा खेलाउँथे । तर, त्यस्तो विद्रोह गर्ने आँट र हिम्मत उनीमा थिएन । 

त्यसमा मलजल गर्यो, तत्कालीन माओवादी संघर्षले । 

‘माओवादीले निकै मीठा नारा लगाउँथे,’ दलबहादुर हाँसे, ‘ती नाराले मलाई पनि लोभ्याए, आखिर उनीहरुले मेरै मनको कुरा गरेका थिए ।’

माओवादीका त्यति बेलाका नारा सम्झिए दलबहादुरले; गाउँमा समानता हुनुपर्छ; कसैले थिचोमिचो गर्न पाउँदैन; सामन्तको सफाया गर्नुपर्छ; कामको मूल्यांकन हुनुपर्छ; हामीले परिवर्तन गर्नुपर्छ; गाउँमा सबै बराबर हो; दलित, गरिब र धनी भन्ने हुनुहुँदैन; र अरुहरु ।

यही झोंकले दलबहादुरलाई काठमाडौं हुत्यायो । उनले सोचे– काठमाडौंमा त विभेद छैन, माओवादीले लगाउने नाराहरु काठमाडौंका लागि होइनन्, गाउँहरुमा मात्र विभेद छ । 

काठमाडौं हुत्तिएका दलबहादुर सोझै रत्नपार्कमा ‘व्यवसाय’ गर्न पुगे । 

‘आफूले जानेको काम नै यही थियो,’ उनले भने, ‘मेसिनको भाडा तिरेर रत्नपार्कमा कपडा सिलाउन थालेँ ।’ दलबहादुरले कपडा सिलाउने भनेको त्यही थियो, लामालाई छोटा बनाउने वा केही छोटा भएका कपडालाई खोलेर अलिक लामो बनाउने । 

‘सानै काम’ किन नहोस्, दलबहादुरलाई काठमाडौंमा बाँच्न र थोरैतिनो बचेको पैसा घर पठाउन पुगिरहेको थियो । 

‘त्यति बेलाको माहोल नै अर्कै थियो,’ उनले भने, ‘अहिलेको जस्तो महंगी थिएन ।’

त्यसमाथि अहिले पनि दलबहादुरले त्यति बेलाका सामानको मूल्य सूची सम्झिरहेका छन्ः

चामल किलोको सात रुपैयाँ

मट्टीतेल १५ रुपैयाँ लिटर
दाल २० रुपैयाँ
कोठाभाडा २ सय रुपैयाँ 

त्यतिबेला दैनिक सय रुपैयाँ सरदरमा कमाउँथे दलबहादुर । ‘अहिले त यति पैसा केही हुँदैन,’ उनले भने, ‘मैले सधैं कमाएको पैसा परिवारका लागि नै खर्चिएँ ।’

त्यसैले दलबहादुरले आफ्नै सिलाइ मेसिन किन्न सकेनन् । ‘६ सन्तान छन् मेरा,’ उनले भने, ‘छोराछोरी पढाउनमा नै खर्च भयो सबै कमाएको ।’

अब त उनका छोराछोरीले पनि घरमा आर्थिक सहयोग गर्न थालिसकेका छन् । ‘एउटा छोरा त विदेश गइसक्यो,’ उनले भने, ‘तर, परिवार बढ्यो, खर्च पनि बढ्यो । त्यसैले जेजे भए पनि आफ्नै मेसिन पनि किन्न सकेको छैन ।’

 

०००

आजभन्दा आठ वर्षअगाडि । देशमा उतिबेला माओवादीले कल्पेको जस्तो समाज बन्ला भन्ने सोच सबैमा आयो । संविधानसभाको निर्वाचन भइसकेको थियो । दलबहादुरले पनि अब अलिक सुख होला कि भन्ने सोचे । 

तर, उल्टै दलबहादुरहरुलाई रत्नपार्कबाट हटाइयो । 

‘केही समय त हातमुख जोर्न पनि गाह्रो भयो,’ उनले भने, ‘त्यहाँबाट हामीलाई हटाएपछि म यो ठाउँमा आएको हुँ, त्यति बेला सटर गरेर बस्न पैसा थिएन ।’

उनले यो ठाउँमा पसल गरेर बसिरहेका ‘साहुजी’को ‘संरक्षण’ पाएका छन् । साँझ घर फर्किने समयमा उनी मेसिन त्यही पसलमा राख्छन्, महानगरले पनि यो ठाउँमा उनलाई दुःख दिँदैन । मानौँ, ठूलो रुखको आडमा छन् दलबहादुर । 

यही ठाउँमा उनले काठमाडौंका अनेक मानिस भेटिसकेका छन् । 

‘कोही हुन्छन् मनकारी, यति पैसा भयो भनेपछि अलिक धेरै दिन्छन्,’ दलबहादुरले भने, ‘कोही हुन्छन् दुष्ट, मेरो परेको पैसा पनि दिन मान्दैनन् ।’ अझ कतिले त दलबहादुरलाई उधारोमा काम पनि लगाएका छन् । 

‘भोलि दिन्छु भन्छन्, पर्सि दिन्छु भन्छन्,’ उनी भन्छन्, ‘अनि हराउँछन् ।’

दलबहादुरलाई यसरी ‘ठग्ने’हरु अधिकांश ठिटाठिटी छन् । 

त्यसो त दलबहादुरको जीवनमा यसरी ठग्नेहरु अरु पनि छन् । तीमध्ये एक हुन्, उनका घरबेटी । काठमाडौं हुत्तिएर आउँदा दलबहादुरले सोचेका थिएनन्, यो ठूलो सहरमा बस्नेहरुको मन पनि सानै हुन्छ । 

तर, उनलाई आजभोलि लाग्छ, आफ्नै घरबेटीको मन सानो छ । ‘मलाई अहिले भाडा तिरेर बसिरहँदा पनि विभेद छ,’ उनले भने, ‘मलाई पानी थाप्न पनि उनीहरुले पानी थापिसकेपछि बल्ल पालो दिइन्छ ।’ तै दलबहादुरलाई त्यहाँ ठिकठिकै लागिरहेको छ । किनकि कतिपय ठाउँमा त उनलाई कोठा खोज्दा पहिले थर सोधे, दलबहादुरले परियार भने र कोठा छैन भने ।

यो सब भोगिरहेका दलबहादुरलाई त्यसैले काठमाडौंको धुलो र धाप, महङ्गी र अन्य समस्या त्यस्ता ठूला समस्या हुन् भन्ने नै लाग्दैन ।

 

०००

बरु समस्या त दलबहादुरलाई आफ्नो लडेको घर उठाउने कसरी होला भन्नेमा छ । २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पले उनको दोलखाको घर लडाएको छ । 

‘चार वर्ष भइसक्यो,’ उनले भने, ‘गाउँको घर लडेको, त्यसलाई बनाउन सकेको छैन । सरकारले ऋण दिन्छ भन्ने त सुन्छु तर आफूले पाएको होइन ।’

अब दलबहादुर चाहन्छन्, ‘गाउँ फर्किउँ, श्रीमती र छोराछोरीसँग बसूँ ।’

किन ? 

‘किनकि अब मेरो उमेर पनि ढल्कीसक्यो, गाउँमा गएर बस्न मन छ, यहाँ यताउता गर्दा थाकिसकेँ,’ उनले भने । 

बरु दलबहादुर चाहन्छन्, आफ्ना छोराहरुले पनि आफूले गरेको पेशालाई निरन्तरता दिउन् । 

‘अब त बाहुन क्षेत्रीले हाम्रो काम गर्न थालिसके,’ दलबहादुरले भने, ‘यसमा पनि मेरो आपत्ति छैन । तर, हामी चाहिँ सधैं मर्कामा नै परिरह्यौँ ।’

त्यो मर्काबाट उम्किन दलबहादुरसँग योजना छ । तर, उनी यो योजना पूरा हुनेमा विश्वस्त चाहिँ छैनन् । 

उनको योजना हो– छोराहरुले सिप सिकून्, आफ्नै पुख्र्यौली पेशालाई व्यवसायिक रुपमा अगाडि बढाउन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्