लामिछानेसहित ३ जनालाई अदालतमा पेश गरिँदै, थपिएला फेरि म्याद ?

भरतपुर– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेश गरिँदै छ । 

यसअघि उनीहरुलाई अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई दोस्रो पटक पाँच दिनको म्याद दिएको थियो । आज उक्त म्याद सकिएकाले उनीहरुलाई अदालतमा लैजान लागिएको हो । प्रहरीले आज आफूले जुटाएको आधारमा सरकारी वकिलको कार्यालयले अदालतसमक्ष मिसिल पेश गर्नेछ । 

अनुसन्धान नसकिएको भए प्रहरीले फेरि पनि अदालतमा म्याद थपका लागि अनुरोध गर्नेछ । अनुसन्धान सकिएको खण्डमा मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अगाडि बढ्ने जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिएका छन् । 

लामिछानेसहित युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ ।

यसअघि थप पाँच दिनको समय पाएको प्रहरीले योेबीचमा धेरै प्रमाणहरु संकलन गरिसकेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार प्रहरीले यसपटक पनि रविसहित अन्य दुईलाई थप १० दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि अनुरोध गर्ने भएको छ । 

नेपालको कानुनअनुसार एक व्यक्तिलाई अधिकतम २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइनेछ । २५ दिनमा पनि अनुसन्धान नसकिएमा ती व्यक्तिविरुद्ध अदालती प्रक्रिया सुरु हुन्छ । 





  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार ९:९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया