कमनरकाे कथा
विदेशिएका युवालाई ठेलामा फलफूल बेच्ने रामको सुझाव– नेपाल फर्किनू

काठमाडौं– शनिबारको दिन । दिउँसो । 

रन्जना गल्लीको एउटा छेउमा छन्, राम पोखरेल । अरु दिनभन्दा अलिक सहज दिन हो, रामका लागि शनिबार । शनिबार काठमाडौं महानगरका कर्मचारी बिदामा हुन्छन्, उनको ठेला खोस्न आइपुग्दैनन् । 

हो, राम ठेलामा फलफूल बेच्छन् । र, त्यही सानो आम्दानीको स्रोतमा महानगरको आँखा लाग्छ । रामले फलफूल बेचिरहेको ठाउँमा महानगरका केही प्रहरी आउँछन्, रामलाई केही भन्दैनन्, चुपचाप ठेला उठाउँछन् अनि गाडीमा लोड गरेर जान्छन् । 

केही पहिलेसम्म त्यसपछि राम पनि महानगरपालिकाको कार्यालय पुग्थे, १५ सय जति जरिवाना तिर्थे अनि ठेला ‘वापस’ ल्याउँथे । 

‘अहिले त वापस ल्याउन पाइँदैन,’ रामले भने, ‘महानगरले लगेपछि फिर्ता दिँदैन । लग्यो त लग्यो, वापस दिँदैन ।’

अहिलेसम्म रामका २० भन्दा धेरै ठेलाहरु महानगरले जफत गरिसकेको छ । जेठयतामात्र उनका तीन ठेला महानगरको जफतमा परेका छन् । 



‘एउटा ठिकैको ठेला बनाउन पनि १० हजार लाग्छ,’ उनले भने, ‘सरकारले हाम्रो बेवास्ता गर्दा मैले तीन महिनामा नै कम्तिमा पनि ४५ हजार त ठेलामा मात्र खर्च गरेँ ।’

 



फरक धारमा अन्य कमनरकाे कथा:

जो १२ वर्षदेखि वसन्तपुर सफा गर्दै छिन्

O ‘बाहुन क्षेत्रीले हाम्रो काम गर्न थाले, हामी मारमा परिरह्यौँ’

O सेवलराम चमारः जसकाे गुनासाे छैन जीवनप्रति

 

रन्जना गल्लीमा खरबुजा, मेवा र भुइँकटहर काटकुट गरेर बेच्नुअघि राम मुम्बई पुगेका थिए ।

‘मेरो भिनाजु मुम्बईमा काम गर्नुहुन्छ,’ उनले भने, ‘त्यहाँ काम गर्न उहाँको पछि लागेर म पनि पुगेको थिएँ ।’

काम गर्न भिनाजुसँग मुम्बई पुगेका रामले एउटा ठिकैको रेष्टुरेन्टमा वेयराको काम गर्न थाले, पछि उनको प्रमोसन पनि भयो कुकमा । 

मुम्बईको ‘बीच’ र रंगहरुले, उज्यालो र सेलेब्रिटी लाइफले रामलाई छुन सकेन । बरु छोयो त्यहाँको गर्मीले । त्यसपछि उनले मुम्बई छाड्ने, नेपाल फर्किने र केही गर्ने सोच बनाए । 

मुम्बईको गर्मीमा ६ वर्ष बिताएका रामले प्रत्येक दिन नुवाकोट सम्झिन्थे, नुवाकोटका डाँडामा बहने चिसो हावा सम्झिन्थे । त्यही सम्झनाले पनि उनलाई फर्काएर नेपाल ल्यायो ।

नेपाल आएपछि रामले फलफूल काटेर बेच्न सुरु गरे । 

खासमा यो आइडिया उनले बाटोमा नै भेटेका हुन्, काठमाडौंका सडकमा । एकदिन उनी नुवाकोटबाट काठमाडौंमा केही गर्छु भनेर आएका थिए । 

गर्मी निकै थियो । उनले फलफूलको एउटा ठेला देखे । गएर त्यहाँ फलफूल मात्र खाएनन्, यो ‘बिजनेस’बारे पनि सोधखोज गरे । 

‘मलाई यो सजिलो लाग्यो; लगानी पनि कम लाग्ने, काम पनि सहज,’ रामले त्यसपछि एउटा ठेला किने र व्यवसाय सुरु गरे । 

व्यापार राम्रै भइरहेको थियो । बीचमा उनका साथीहरुले उनलाई उस्काए– कमाइ त यहाँभन्दा राम्रो दुबईमा हुन्छ । 

राम पनि लहलहैमा लागे । उनी दुबई जाने भए । तर, त्यहाँ पनि रामलाई खासै ठिक लागेन, ठूला भारी बोक्ने काम उनले पाएका थिए । उनी नेपाल फर्किने भए, ‘नेपालमा फलफूल नै बेच्छु भन्ने दुबईमा हुँदा नै सोचेको थिएँ ।’

दुबई जाँदा रामले एक लाख रुपैयाँ ऋण लागेको थियो । ‘पचास त उतै हुँदा तिरेको थिएँ,’ उनले भने, ‘बाँकी पचास त मैले काठमाडौंमा आएर तिरेँ ।’

काठमाडौं आएपछि राम फेरि पुरानै व्यवसायमा फर्किए, फलफूल बेच्ने । 

अब त आठ वर्ष भइसकेको छ, रामले फलफूल बेच्न थालेको । उनी प्रत्येक दिन विहान पहिले बल्खुमा फलफूल किन्न जान्छन्, त्यहाँबाट असनमा आएर फलफूल किन्न थाल्छन् । 

दिनभर एक ठाउँमा बस्छन् राम । साँझसम्म पनि फलफूल सकिएन भने ठेला घुमाउन थाल्छन्, टोलटोलमा पुग्छन् र फलफूल बेच्छन् । 

‘दैनिक झन्डै सय केजी फलफूल बेच्छु,’ रामले भने, ‘विशेष दिन रहेछ भने एक सय पचास किलोसम्म पनि बिक्री हुन्छ ।’

महंगीले रामलाई पनि निकै असर गरेको छ । केही वर्षपहिले जस्तो अहिले व्यापार हुन छाडेको छ । ‘फलफूल त निकै महंगो भयो नि,’ उनले भने, ‘फेरि आजभोलि विषादी प्रयोग गरेको फलफूल भनेर मानिसहरुले खासै खाँदैनन् ।’

त्यसमाथि फलफूलको मूल्य तीन वर्षमा दोब्बर भएको छ । ‘तीन वर्षअघि मेवा किलोको ५० रुपैयाँमा पाइन्थ्यो,’ उनले भने, ‘अहिले सय रुपैयाँ पर्छ ।’

कमाई त पहिलेको जस्तै छ, रामको । तर, उनले पहिले जति बचाउन सकेका छैनन् । 

यो सब कुरामा रामको चित्त बुझाइ छ । उनको गुनासो त महानगरपालिका र यात्रुहरुसँग बढी छ । 

‘महानगरले जेठ यतामात्र मेरा तीनवटा ठेला जफत गरिसक्यो,’ उनले भने, ‘अहिलेसम्म २० भन्दा धेरै ठेला मैले महानगरमा बुझाएको छु ।’

अनि उनलाई यो काम गरेकोमा ‘हेप्ने’हरु निकै बढी छन् । ‘मभन्दा निकै कम उमेरकाले पनि मलाई तँ भन्छन्,’ उनले अनुहार निन्याउरो बनाए, ‘यी गल्लीहरुमा ठेला गुडाउँदा अर्को समस्यामा म परिरहेको हुन्छु, कसैलाई छोयोभने मात्र पनि मलाई ठूलो अपराधीको झैं व्यवहार गर्छन्, हेर्छन् ।’

सँगसँगै उनलाई फलफूल व्यापारीहरुसँग ठूलो गुनासो छ । ‘सर्टेज हुन लागेको छ भन्ने सुन्नुपर्छ,’ उनले भने, ‘हामीसँग उनीहरु निकै ठूलो रकम असल्नु खोज्छन् ।’

जे होस्, यी सबकुराहरु भुल्न तयार छन्, राम । 

किनकि उनी नेपालमा नै बसेर केही गरिरहेका छन् । ‘विदेशमा हुँदा दुई रुपैयाँ बढी कमाइ गर्थेँ होला,’ उनले भने, ‘अहिले नेपालमा नै छु, परिवारमा बस्न पाएको छु, श्रीमती र छोराछोरी, बाआमा सँगै हुन पाएको छु, मलाई जीवनदेखि यही कुरामा खुसी छ ।’

काठमाडौंमा आफ्नो व्यवसाय गरिरहेकाले नै राम बेलाबेलामा नुवाकोट पुग्छन्, खेतीपातीमा सहयोग गर्छन् । अनि फेरि काठमाडौंमा फर्किन्छन्, फलफूल बेच्न थाल्छन् ।

‘गाउँमा पनि जान पाएको छु, यहाँ परिवारलाई पनि राम्रैसँग राखेको छु, छोराछोरी पढाएको छु,’ उनले भने, ‘अब मलाई किन विदेश जानु पर्यो र ?’

बरु उनी त विदेश पुगेका नेपाली युवाहरुलाई पनि नेपाल फर्किउन् भन्ने चाहन्छन् । 

‘चाहने हो भने नेपालमा गर्न सकिने धेरै कुराहरु छन्,’ रामले भने, ‘विदेशमा एक रुपैयाँ बढी कमाइ त हुनसक्छ, तर नेपालमा जस्तो आनन्द हुँदैन ।’

बरु उनीसँग विदेशिएका युवा नेपाल आउने हो भने केही उपाय छन्– नेपालमा आएर फलफूल खेती गरे पनि हुन्छ । 

यसका दुई कारण छन् उनीसँग–

पहिलो, नेपालमा अहिलेसम्म भारतबाट निकै ठूलो मात्रामा फलफूल आयात हुन्छ, नेपाली युवाहरु विदेशबाट फर्किए फलफूल खेती गरेर नै मनग्य कमाउन सक्छन् । 

दोस्रो, नेपालमा नै अग्र्यानिक तरिकाले फलफूल उत्पादन गर्ने हो भने फलफूल खानेहरुको स्वास्थ्य पनि सकारात्मक फाइदा नै पुग्छ । अनि युवाहरुले पनि रोजगारी पाउँछन् । 

त्यसैले उनले थपे, ‘विदेश गएका युवाहरु नेपाल फर्किउन् ।’

  • प्रकाशित मिति : भदौ ८, २०७६ आइतबार २०:२६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया