के आज सकिएला रविविरुद्धको थुनछेक बहस ?

भरतपुर– टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्कीविरुद्ध चितवन जिल्ला अदालतमा परेको आत्महत्या गर्न दुरुत्साहन मुद्दामा आज थुनछेक बहस हुँदैछ । अदालतमा आइतबार रुकु कार्कीको बयान लिइयो । आज सोमबार सबैभन्दा पहिले युवराज कँडेलको बयान लिने क्रम सुरु भएको छ । यसपछि मात्र रवि लामिछानेको बयान लिइनेछ । 

त्यसपछि बल्ल अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् । याे बहस गर्ने वकिलकाे संख्या २३ भएकाे अदालतका श्रेष्तेदारले बताएका छन् ।

आइतबार नै लामिछाने र अन्य दुईविरुद्ध अभियोगपत्र दर्ता भएको छ । अभियोग पत्रमा लामिछाने र अन्य दुईलाई ५ वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । 

आइतबार एक जनाको मात्र बयान लिन सकेको अदालतले सोमबार पनि दुई जनाको बयान लिन सक्ला वा नसक्ला भन्नेमा आशंका गरिएको छ । समयअभावका कारण सोमबार (आज) युवारज कँडेलको मात्र बहस सकिएमा थुनछेक बहस सोमबार नसकिने सम्भावना बढ्छ । 

आज बयान सकिएको खण्डमा मात्र थुनछेक बहस हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले बताएका छन् । 

बयान सकिएर चाँडै बहस भएमा मात्र तीनजनालाई धरौटीमा वा साधरण तारेखमा वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे निक्र्योल हुनेछ । यसबारे अदालतले आदेश जारी गर्नेछ । 



तर, यो विषयमा २३ कानुन व्यवसायीको वकालतनामा परेको छ । यसको अर्थ हो, बहसका लागि लामो समय लाग्न सक्छ । यसरी लामो समय लागेको खण्डमा आज अदालतले कुनै आदेश दिने छैन । यसको अर्थ हो, आज पनि रवि लामिछानेले हिरासतमा रात कटाउनु पर्ने हुन्छ । 

यतिमात्र होइन, यी तीनजनाविरुद्ध सामूहिक रुपमा लागेर ज्यान मार्ने उद्योग चलाएको आरोपमा पनि अर्को मुद्दा परेको छ । यसले पनि आज थुनछेक बहस सकिएको खण्डमा यी तीन जना प्रहरी हिरासतबाट छुट्ने सम्भावना कम भएको कानुन व्यवासायी बताउँछन् । 



पत्रकार शालिकराम पुडासैनीको बाहिरिएको भिडियोमा कुनै पनि छेडछाड नगरिएको प्रहरीले अनुसन्धानमा पत्ता लगाएसँगै लामिछाने, कँडेल र कार्कीको पक्ष कमजोर भएको, उनीहरुको बयान बाझिएका कारण पनि समस्या उत्पन्न हुनसक्ने अड्कलबाजी काटिएका छन् । तर, यो अनुसन्धानको घेरामा रहेको र अदालतले फैसला गर्ने भएकाले यसबारे अदालतको फैसला नआएसम्म कुनै अनुमान गर्न सकिँदैन । 

न्युज २४ मा काम छाडेपछि माउन्टेन टिभी गएका पत्रकार शालिक पुडासैनी २० साउनमा चितवनको नारायणगढस्थित कंगारु होटलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । उनले भिडियो सार्वजनिक भएपछि प्रहरीले ३० साउनमा रवि लामिछाने, युवराज कँडेल र रुकु कार्कीलाई काठमाडौंमा पक्राउ गरि चितवन पुर्याएको थियो । 


  • प्रकाशित मिति : भदौ ९, २०७६ साेमबार १२:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया