कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य, कहिले फर्किँदै छन् ?

काठमाडौं– १२ वर्षअघि फेरिएको मिर्गौलाले राम्रो काम नगरेपछि स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अहिले सामान्य रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । 

रिमाल अहिले प्रधानमन्त्रीसँगै सिंगापुरमा छन् । उनले ट्विट गरेका छन्, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूको प्लाज़्मा फेरेसिस प्रकृयाबाट उपचार जारी छ ।’

मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस प्रक्रियाबाट प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचार सुरु गरेका हुन् । 

रिमालले ट्विटमा लेखेका छन्, ‘उहॉको अनुसार यो उपचार प्रकृया अर्को साता सम्ममा पुरा हुनेछ । सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था हाल सामान्य स्थितिमा छ ।’

प्लाज्मा फेरेसिस उपचार विधि ६ पटकसम्म गर्न पर्ने हुनसक्छ । शरीरमा एन्टिबडीको मात्रा नघटेको खण्डमा यो उपचारलाई अझ लम्ब्याउनु पर्ने हुन्छ । यसबाट पनि समाधान नभएमा फेरि मिर्गौला प्रत्यारोपण गर्नु पर्ने हुनसक्छ । 



रिमालले यो प्रक्रिया गत शुक्रबार सुरु भएको र अर्को सातासम्म चल्न सक्ने बताएका छन् । रिमालले त्यही ट्विटमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाह बुधबार नै नेपाल फर्किएको पनि जानकारी दिएका छन् । 

प्रधानमन्त्री ओलीको अहिले सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।



यो उपचार कहिलेसम्म लम्बिन्छ भन्ने एकीन छैन । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओली कहिले नेपाल फर्किन्छन् भन्ने पनि निश्चित नभएको उनी निकट एक नेताले बताए । मन्त्रीसमेत रहेका ती नेताले भने, ‘उहाँ उपचार गर्न जानु भएको हो, उपचार सकेर फर्किनुहुन्छ । यति नै गते भन्ने छैन ।’

सिंगापुरमा उपचारका लागि जानुभन्दा पहिले ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चाहिँ आफूलाई कम्तिमा दुई साता जस्तो लाग्न सक्ने बताएको प्रचण्ड सचिवालयका एक सदस्यले बताएका छन् । ‘उहाँले डेढ देखि दुई साताको समय भन्नुभएको थियो,’ ती सदस्यले भने, ‘तर, उपचार हो, लम्बिन सक्छ । फेरि उहाँले यहाँ सबैकुरा मिलाएर जानुभएको छ, त्यसैले थप केही समय बस्दा पनि पार्टी र सरकारको कामकारवाहीमा भने कुनै फरक पर्ने छैन ।’

  • प्रकाशित मिति : भदौ १२, २०७६ बिहीबार ११:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया