एजेन्सी– अफगानिस्तानमा लामो समयदेखि युद्ध गरिरहेको तालिबान समूहले कतारमा अहिले अमेरिकासँग भइरहेको वार्ता निकै सकारात्मक तथा अन्तिम चरणमा पुगेको बताएको छ । उसले अब केही समयमा निकै राम्रो समाचार बाहिर आउन सक्ने पनि बताएको छ ।
यदि अमेरिकासँग भइरहेको तालिबानको यो शान्ति वार्ता सफल भएमा अफगानिस्तानमा १८ वर्षदेखि भइरहेको अस्थिरता अन्त्य हुने विश्वास गरिएको छ ।
यो अफगानिस्तान शान्ति वार्ताको पहिलो चरण हो । यसपछि दोस्रो चरणमा वार्ता प्रवेश गर्नेछ । अहिले चलिरहेको वार्ता सफल भएमा अफगानिस्तानबाट अमेरिकी सुरक्षा बल विस्तारै फिर्ता जानेछन् । सँगसँगै तालिबानले पनि अफगानिस्तानको भविष्य र अन्य देशका लागि खतरा उत्पन्न नगर्ने र अलकायदालगायतका संस्थासँग आफ्नो सम्बन्ध नराख्नेमा विश्वस्त गराउनु पर्ने हुनसक्छ ।
यी दुई बिन्दुमा एक वर्षयता तालिबान र अमेरिकाबीच वार्ता भइरहेको छ । अहिले कतारमा चलिरहेको वार्ता नवौँ राउन्डको वार्ता हो । अब यो वार्ता निष्कर्षमा पुग्ने धेरैले विश्वास गरेका छन् ।
यो वार्ता सकिएलगत्तै तालिबान र अफगानिस्तानका अधिकारी एकअर्कासँग वार्ता गर्नेछन् । र, यसलाई नै अफगान शान्ति वार्ताको दोस्रो चरण मानिने भनिएको छ । दोस्रो चरणको वार्तामा यसअघि नै अफगान सरकारका अधिकारी, तालिबानका सदस्य तथा अन्य राजनीतिक दलका प्रतिनिधि र मानवअधिकारकर्मीहरु रहने बताइएको छ ।
तर, यो वार्ता कति लामो समयसम्म चल्न सक्छ भन्ने कुनै अनुमान गरिएको छैन । जे होस्, पहिलो चरणको वार्ता सकारात्मक हुँदा दोस्रो चरणको वार्ता सकारात्मक रुपमा नै सकिनेमा विश्वास धेरैले गरेका छन् ।
१८ वर्षयता पहिलो पटक तालिबानसँगको वार्तामा यो चरणमा पुगिएको छ । यसले पनि यो वार्ताले १८ वर्षे गृहयुद्ध सकिनेमा धेरैको विश्वास छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।