डेंगु र स्क्रब टाइफसबाट चितवनमा चारजनाको मृत्यु

चितवन– डेंगु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय चितवनका कीटनियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीनजनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेंगुका कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेंगु र स्क्रबटाइफस संक्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिए । 

दुवै रोगको संक्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९ सय ८ जनाको डेंगु परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको केसीले बताए । जसमध्ये ४ सय ५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४ सय १४ जना भरतपुर महानगरपालिकाका रहेको उनको भनाइ थियो । 

महानगरमा संक्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ । जसअन्तर्गत गत शनिबार सचेतना र्याली निकालिएको थियो । दैनिक माइकिङ गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्नेजस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ । केसीका अनुसार स्क्रबटाइफसका बिरामीको तथ्यांक स‌कलन गर्ने काम भइरहेको छ । संक्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् । 





  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार १८:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया