९ चरणको वार्तापछि जुट्यो अमेरिका-तालिबान सहमति, तर रोकिएन विस्फोट

वासिंगटन– तालिबानसँगको वार्ता सकारात्मक रुपमा अघि बढ्दै गर्दा अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सैनिक फिर्ता गर्ने भएको छ ।

अमेरिकी र तालिबानी वार्ताटोलीबीच २० साताभित्र ५४ सय अमेरिकी सैनिक फिर्ता गर्ने सहमति जुटेको अमेरिकी उच्च अधिकारीलाई उद्धृत गर्दै बिबिसीले बताएको छ । अफगानिस्तानमा अहिले १४ हजारजति अमेरिकी सैनिक छन् । 

सहमतिअनुसार, अमेरिकी सैनिक फिर्तीको बदलामा तालिबानले ‘अफगानिस्तानलाई अब कहिल्यै अमेरिका र उसका सहयोगी शक्तिमाथि आक्रमण गर्न खोज्ने सशस्त्र समूहको आधारभूमिका रुपमा प्रयोग नगर्ने’ वचन दिएको छ । 

वार्तामा सहभागी अमेरिकी अधिकारी जाल्मी खालिजादले पहिलोपटक तालिबानसँगको सहमतिबारे एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै यो कुरा खोलेका हुन् । कतारको दोहामा भएको ९ चरणको वार्तापछि यो सहमति जुटेको हो । सहमतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक स्वीकृति भने आइसकेको छैन । 

तालिबानका प्रवक्ताले आफूसँग मेसेजमार्फत कुरा गर्दै जाल्मी खालिजादले भनेअनुसारको सहमति साँचै भएको पुष्टि गरेको बिबिसीले बताएकाे छ । 

खालिजादको अन्तर्वार्ता प्रसारण हुँदै गर्दा अफगानिस्तानको राजधानी काबुलमा भने ठूलो विस्फोट भएको छ । विस्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको छ भने ११९ भन्दा बढी घाइते भएका छन् । तालिबानले भने यो विस्फोट आक्रमणको हिस्सा नभएको बताएको छ । 



थुप्रै दिनपछि भएको यो आक्रमणले अमेरिका–तालिबान वार्ताले अफगानिस्तानले दैनिक भोगिआएको हिंसा अन्त्य नहुने भय थपिदिएको छ । सामाजिक सञ्जाल र स्थानीय मिडियाहरुमा तालिबानका केही नेताले अमेरिकासँग सहमति भए पनि लड्न नछाड्ने बताइरहेका पनि छन् । 

विस्फोटपछि काबुलवासीहरु सडक प्रदर्शनमा उत्रिएका छन् । तालिबानीहरु कत्ति पनि नबदलिएको र कहिल्यै नबदलिने उनीहरुको गुनासाे छ । 



  • प्रकाशित मिति : भदौ १७, २०७६ मंगलबार १८:३४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया