लन्डन– इरानले पर्सियन खाडीको जिब्राल्टर क्षेत्रबाट ४८ दिनअघि नियन्त्रणमा लिएको बेलायती तेल ट्यांकरका चालकदलका ७ सदस्यलाई रिहा गर्ने भएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले विभिन्न देशका नागरिक ती ७ जनालाई मानवताका आधारमा रिहा गर्न लागिएको बताएका छन् । जहाज भने उसको नियन्त्रणमै रहनेछ ।
पछिल्ला महिना जिब्राल्टर क्षेत्रमा अमेरिका र बेलायतसँग इरानको तनाव चुलिएको छ । बेलायत र इरानबीच त केही समय एकअर्काका जहाज नियन्त्रणमा लिने शृंखला नै चल्यो ।
सात साताअघि यो ट्यांकर इरानले ‘समुद्री हिंसा’मा प्रयोग भएको भन्दै ओमनको खाडी र पर्सियन खाडीबीचको विश्वप्रसिद्ध समुद्री रणनीतिक मार्ग ‘स्ट्रेट अफ होर्मुज’बाट नियन्त्रणमा लिएको थियो ।
त्यसको दुई साताअघि बेलायतले जिब्राल्टर क्षेत्रबाट एक इरानी ट्यांकर नियन्त्रणमा लिएको थियो । युरोपियन युनियनले सिरियामाथि लगाएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा सो ट्यांकर नियन्त्रणमा लिइएको थियो ।
दुई सातापछि इरानले खाडीमा इन्धन तस्करी गरिरहेको भन्दै अर्को विदेशी ट्यांकर नियन्त्रणमा लिएको थियो ।
त्रिदेशीय तनावमा रहेको इरान र ओमनबीचको यो समुद्री क्षेत्र तेल ढुवानी गर्ने विश्वकै महत्वपूर्ण र संवेदनशील समुद्री मार्ग भएको क्षेत्र हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।