सिंगापुरबाट फर्किएलगत्तै ओली–प्रचण्ड भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट फर्किएलगत्तै नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।  

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड शुक्रबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । प्रचण्डको सचिवालयले जानकारी गराएअनुसार भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र ओलीले समसामयिक विषयमा जिज्ञासा राखेका थिए । 

ओलीको जिज्ञासामा प्रचण्डले पछिल्लो राजनीतिक गतिविधि, पार्टीका सकिएको र बाँकी कामबारे जानकारी गराएका थिए । प्रधानमन्त्री सिंगापुर रहँदा प्रचण्डले  सचिवालय बैठक बोलाएर केही जनवर्गीय संगठनको सहइन्चार्ज र चारजना केन्द्रीय सदस्य थप गरेका थिए ।

ओलीले आफू उपचारका लागि सिंगापुरमा रहँदा पार्टीका सबै काम अर्का अध्यक्ष प्रचण्डले गर्न सक्नेगरी प्रचण्डलाई ‘कार्यकारी’ अधिकार सुम्पिएका थिए । सोही जिम्मेवारीअनुसार प्रचण्डले अन्तरपार्टी निर्देशन–२ पनि जारी गरेका थिए । अध्यक्षद्वयको भेटघाटमा नेकपा महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो । 

ओलीसँग भेट गरेर फर्केलगत्तै प्रचण्ड डेंगुको संक्रमणका कारण ग्राण्डी अस्पतालमा उपचाररत कृषिमन्त्री चक्रपाणि खनाललाई भेट्न पुगेका थिए । 





  • प्रकाशित मिति : भदौ २०, २०७६ शुक्रबार १६:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया