चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रचण्डकाे आग्रह

काठमाडाैं— नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको आर्थिक विकासमा लगानी गर्न चीन सरकार र चिनियाँ व्यापारी तथा लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । 

चिनियाँ दुतावासले शनिबार राजधानीमा गरेको नेपाल चीन व्यापार सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजनीतिक स्थायीत्व कायम भएसँगै लगानी मैत्री वातावरण पनि निर्माण भएकाले निर्धक्क भएर नेपालमा लगानी गर्न आव्हान गरेका हुन् । राजनीतिक स्थायीत्वसँगै नेपाल सरकार मुलुकको आर्थिक विकासलाई सम्मृद्धिको नयाँ यात्रामा रुपान्तरण गर्न चाहेको उल्लेख गर्दै उनले चिनियाँ सरकार, जनता र लगानीकर्ताबाट नेपालको आर्थिक वृद्धिको लागि सहयोग हुने कुरामा सरकार र नेपाली जनताले ठूलो अपेक्षा राखेको बताए । 

उनले नेपाल सधै एक चीन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चिनियाँविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोर्याए । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको चीनको राजकीय भ्रमणको प्रतिफलनै दुई देशबीचको सहयोग आदानप्रदानको आधारशिला भएको उनले स्पष्ट पारे । 

कार्यक्रममा उपराराष्ट्रपति नन्द बहादुर पुनले नेपालको पुर्वाधार विकासमा चीन र नेपाल सरकारको सहकार्यमा सार्वजनिक, निजी साझेदारी मोडलमा काम अघि बढाउनुपर्ने आवश्यकता औल्याए । 

कार्यक्रममा चीनका लागि नेपालका राजदुत लिलामणि पौडेलले पछिल्लो समय नेपाल चीनबीच राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक र जनस्तरका सम्बन्धहरु विस्तार हुँदै गएको बताए । 

कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्री, राजनीतिक दलका नेताहरु तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । 





  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार १४:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया