दार्चुला- व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्छन् । त्यहाँ पुग्दा पनि मुस्किलले एक कल फोन लाग्छ । त्यो पनि कैचुला टावरमार्फत घाम लागेमा मात्र मुस्किलले फोन लाग्छ । नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने व्यासका स्थानीयवासी अहिले टेलिफोन नभएकै कारण समस्यामा परेका छन् ।
झण्डै आठ–नौ महिनादेखि व्यासको वडा नं १ को छांगरु र तिंकरमा मोबाइल नेटवर्कले काम गरेको छैन । व्यासीहरुको गत वैशाखमा कुञ्चा सरे पनि उनीहरुले राम्रोसँग फोन गर्न पाएका छैनन् । एक मात्र स्काई टावरमा हिउँदमा परेको हिमपातका कारण उपकरणमा क्षति पुगेपछि यो क्षेत्र सञ्चारविहीन बनेको हो ।
फोनलाइन नै नभएपछि यहाँका स्थानीयवासी, नेता तथा सरोकारवाला कार्यालयमा धाउन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराको नेतृत्वमा व्यासका राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा स्थानीयवासीले टेलिफोन सञ्चालन गर्न माग गरेका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टलाई भेटी उनीहरुले व्यासका स्थानीयवासी सञ्चारको सेवाबाट बञ्चित भएको गुनासो गरेका छन् । त्रिदेशीय सामरिक महत्व बोकेका क्षेत्रका स्थानीयवासी लामो समयदेखि सञ्चारविहीन हुन पुगेका छन् । यसका लागि पहल थालिदिन उनीहरुले माग गरेका छन् ।
व्यास क्षेत्रका नागरिक मात्र नभएर यो क्षेत्रमा भारतीय सुरक्षाकर्मी तथा स्थानीयवासी पनि नेपालकै फोनका भरमा रहेकाे स्थानीय ललितसिंह बोहराले बताए । सेवासुविधाबाट वञ्चित हुँदा नागरिकहरु फोनको लाइन खोज्न डाँडाकाँडा चहार्नुपरेको छ । व्यासमा निर्माण गरिएको फोनमा गत वर्ष हिमपातका कारण सोलारपाता बिग्रिएको थियो । टेलिकमको टावरमा भारी हिमपातका कारण क्षतिग्रस्त हुँदा टेलिकम दार्चुलाको प्राविधिक टोलीले टावर मर्मत गरी गत असार २५ गतेदेखि सञ्चालनमा ल्याएको थियो, तर फोनमा कुराकानी भने खासै हुन सकेन ।
टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङसहित प्राविधिक टोली टावर मर्मतका लागि असार १७ गते हेलिकाेप्टरमार्फत छाङरु पुगेका थिए । उहाँको टोलीले लामो प्रयास गरे पनि सुधार हुननसकेको स्थानीयवासीको गुनासो छ ।
दोस्रोपटक साउनमा पुनः टेलिकम क्षेत्रीय कार्यालय अत्तरिया र जिल्लाबाट टेलिकम टावर सञ्चालन गर्ने प्रयास गरे पनि उपकरणमा पुगेको क्षतिका कारण हुन नसकेको बताइएको छ । टावरको अधिकांश उपकरण परिवर्तन गरेर नयाँ सेवासुविधा थप्ने गरी तयारी थालिएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।
अहिले फोन सेवा नहुँदा स्थानीयवासी पुरानै हुलाकी पत्रको युगमा पुगेको गुनासो गर्न थालेका छन् । गत वर्षसम्म सहज रूपमा उपलब्ध भइरहेको मोबाइल सेवा यो वर्ष प्रयोग नै गर्न नपाएपछि समस्यामा परेको वडाध्यक्ष अशोक बोहराले बताए । अझ पनि पुरानै युगमा पुगियो । गाउँमा खबर गर्न मान्छे पठाउनुपर्ने अवस्था भइरहेको छ । बसाइँसराइ सर्ने समय नजिकिँदै छ, फोन सम्पर्क हुँदैन ।
एक दशकअघि स्थापना गरिएको व्यासको टावरबाट छाङरु, तिङकरका साथै सीमावर्ती भारतीय क्षेत्रका बासिन्दाले पनि मोबाइल सेवा उपभोग गर्दै आएका थिए । सामान्य अवस्थामा व्यासको टावरबाट एकपटकमा ३५ ग्राहकले एकसाथ कुरा गर्ने क्षमता रहेको टेलिकम दार्चुलाले जनाएको छ । स्काई फोनको यो टावरबाट हाल क्षमताभन्दा धेरै कम काम भइरहेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताए । टावरमा प्राविधिक समस्या आएको र ग्राहक संख्या धेरै भएकाले मोबाइल सम्पर्क गर्न असहज भएको उनको भनाइ छ ।
यस्तै यसपालिको अत्यधिक हिमपातले टावरमा धेरै क्षति भएको हो । एन्टेनालगायतका उपकरणमा क्षति पुगेको टेलिकमले जनाएको छ । सौर्यऊर्जा प्रणालीमार्फत सञ्चालन भइरहेको व्यासको टावरमा ३२ मध्ये २४ सोलार प्यानल क्षतिग्रस्त भएका छन् । टेलिकमको स्काई टावरले काम नगर्दा सदरमुकामदेखि टाढाको बस्तीका स्थानीयवासी र आफन्तसँग सम्पर्क गर्न सकिएको छैन ।
अहिले टावरमा आठ सोलार प्यानल छन् । स्काई प्रविधिको व्यासको टावरमा क्षमता बढाउन नयाँ उपकरणको माग गरिएको गुरुङले बताउनुभयो । पछिल्लो समय दोस्रोपटक थप सामग्री माग गरिएको छ । उक्त टावरलाई स्तरोन्नति गरे मात्रै यस क्षेत्रमा फोनका पहुँच सहज हुन्छ ।
हाल सेटेलाइट प्रविधिमार्फत व्यासको टावरबाट ६ सय ५० केभिपिएस क्षमताबाट सेवा दिइएको छ । नयाँ उपकरण जडान गरिएपछि २ एमबिपिएस क्षमताबाट सेवा दिइने उनले बताए । नेपाल टेलिकमले व्यास क्षेत्रको छाङरुमा नमस्ते मोबाइलको नयाँ टावरसमेत राख्ने गरी सम्भाव्यता अध्ययन गरेको छ ।
व्यासको टावरबाट हाल झण्डै एक हजार उपभोक्ताले सेवा लिइरहेको टेलिकम दार्चुलाको भनाइ छ । भौगोलिक विकटताले रेडियो लिंकमार्फत टावर सञ्चालन हुननसकेको र सेटेलाइटमार्फत लिंक गराएर व्यासको टावर एक दशकदेखि सञ्चालन हुँदै आएको थियो । मोबाइल टावरले प्रभावकारी काम नगर्दा व्यास क्षेत्रमा रहेको प्रहरी चौकीमा पनि सञ्चार सम्पर्क गर्न समस्या भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।