किन आउँदैछन् चिनियाँ विदेशमन्त्री वाङ यी ?

काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौंमा अवतरण गर्दै छन् । उनी पाकिस्तानमा अफगानिस्तान–पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी भइसकेपछि त्यहाँबाट नेपाल आउन लागेका हुन् । 

वाङको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । 

किनकि यही भ्रमणले चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे तय गर्ने अनुमान छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ केही समयपछि भारतको भ्रमणमा आएको मौका पारेर नेपाल पनि आउनसक्ने अनुमान भएका छन् । उनी नौ घन्टाका लागि मात्र नेपाल आउने भनिएको भए पनि परराष्ट्र मन्त्रालयले केही बताएको छैन । त्यसो त चिनियाँ पक्षले पनि यसबारे कुनै औपचारिक धारणा बाहिर ल्याइसकेको छैन । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङबीच सोमबार द्विपक्षीय समझदारीका विषयमा वार्ता हुने मन्त्रालयका एक अधिकारीले बताए । ‘उहाँको भ्रमणमा चिनियाँ राष्ट्रपति सीको भ्रमणको विषयमा पनि चर्चा चाहिँ हुनसक्छ तर मुख्य अजेन्डा यो होइन,’ उनले फरक धारसँग भने, ‘बरु पछिल्लो समय चिनियाँ सहयोगको विषयमा छलफल हुने र समीक्षा हुने कार्यक्रम चाहिँ छ ।’

अन्य १८ सदस्यसँग नेपाल आउने वाङको यो भ्रमणलाई विशेष चासोका साथ चाहिँ हेरिएको छ ।
 

के साँच्चिकै नेपाल भ्रमणमा आउँदैछन् सी ?



पछिल्ला केही दिन यता चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउन सक्ने समाचारहरु बाहिर आएका छन् । यसका लागि नेपाल र चीनका कुटनीतिज्ञहरु पनि जुटेका छन् । त्यसैले सी नेपाल भ्रमणमा आउने विषयमाथि चर्चा हुन थालेको छ । 



तर, यसबारे नेपाल र चीनले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । 

खासमा यो समाचार आउनुको कारण चाहिँ चिनियाँ राष्ट्रपति सी जिनपिङको भारत भ्रमण हो । उनी भारतमा असोज अन्तिम सातामा जाँदै छन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता गर्दै छन् । ‘त्यही समयमा उनलाई नेपालमा पनि ल्याउने कि भन्ने तयारी हामीले सुरु गरेका हौँ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘चिनियाँ पक्ष पनि राष्ट्रपति सीको नेपाल भ्रमणबारे सकारात्मक त छ, तर औपचारिक रुपमा यसबारे चिनियाँ पक्षबाट कुनै जानकारी आएको छैन ।’

‘अर्कोतिर चिनियाँ राजदूत होउ यान्छीले पनि आफ्नो सक्रियता बढाएकी छिन्, नेताहरुसँगको भेटलाई उनले तीव्रता दिएकी छिन्,’ ती अधिकारीले भने, ‘त्यसैले चिनियाँ राष्ट्रपति नेपाल आउने सम्भावना बढेको हो । तर, कन्फर्म भइसकेको होइन ।’

उनले यसो भने पनि पछिल्ला केही दिन यता नेपालमा चिनियाँ राष्ट्रपति नौ घन्टाका लागि मात्रै भए पनि आउने सम्भावनामाथि चर्चा चलेको छ । 

यता, नेपालमा चाहिँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत चिनियाँ राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न आफूहरु आतुर रहेको बताउँदै आएका छन् । यसअघि उनी चीनको भ्रमणमा रहँदा पनि त्यहाँका उच्च अधिकारीहरुले राष्ट्रपति सीको नेपाल भ्रमण उच्च कूटनीतिक एजेन्डामा रहेको बताएका थिए । ज्ञवालीका चिनियाँ समकक्षी वाङले दिएको त्यो सकारात्मक अभिव्यक्ति र राष्ट्रपति सीको भारत भ्रमण तय भइसकेको खण्डमा उनी नेपालमा आउने सम्भावना बढी हुन्छ । 

‘त्यसो त नेपालसँग अझ नजिक हुन चीन खोजिरहेको छ, नेपालमा उसको लगानी पनि पछिल्लो समय निकै बढिरहेको छ,’ परराष्ट्रका ती अधिकारी बताउँछन्, ‘दक्षिण एशियामा आफ्नो प्रभाव बढोस् भन्नका लागि पनि यसपटक केही घन्टाका लागि राष्ट्रपति सी नेपाल आउन सक्छन् ।’

  • प्रकाशित मिति : भदौ २१, २०७६ शनिबार २२:२९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया