सरकारी बिजुली बस एक वर्षदेखि ग्यारेजमा, निजी चल्न थाले सडकमा

काठमाडौं– सरकारले बिजुली बसको उद्घाटन गरेर लामो समयसम्म ग्यारेजमै थन्क्याएको अवस्थामा निजी क्षेत्रले ल्याएकाे बस सोमबारबाट काठमाडौं उपत्यकामा सञ्चालनमा आएको छ । सुन्दर यातायात प्रालिले पहिलोपटक विद्युतीय बस सञ्चालन सुरु गरेको हो ।

सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नेपाल आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले विद्युतीय बसको औपचारिक रुपमा उद्घाटन गरे ।

सोमबारबाट सञ्चालनमा आएका विद्युतीय बस चीनको बिएके कम्पनीबाट खरिद गरी ल्याइएको हो । सोमबार उद्घाटन गरिएका बसहरूमा एउटा ३५ र अर्को ४० सिटक्षमताका रहेका छन् ।

बसमा ६५ देखि ७० यात्रु अटाउन सक्ने क्षमता छ । सो बस यातायात व्यवस्था विभागमा दर्ता भइसकेको भने छैन । दर्ता गर्न र नम्बर प्लेट लिन केही दिन लाग्ने देखिएकाले केही दिनपछि मात्रै सती बस चक्रपथमा सञ्चालन गरिनेछ । बसमा ज्येष्ठ नागरिक, फरक क्षमता भएका, विद्यार्थी र बालबालिकाका विशेष छुट दिइने सुन्दर यातायात प्रालिका अध्यक्ष थापाले बताए । 

करिब २ घन्टामा एउटा बस फुल चार्ज गर्न सकिने र एकपटकको चार्जले करिब तीन सय किमिसम्म सञ्चालन हुने बताइएको छ । चार्जिङका लागि प्रालिले भत्केको पुल, सीतापाइला र सुकेधारामा चार्जिङ स्टेसन स्थापना गरेको छ । 

यसअघि सरकारमातहतको साझा यातायात प्रा.लि.ले चीनबाट ल्याएका पाँचवटा बिज्ुली बस ग्यारेजमै थन्किएका छन् । झण्डै एक वर्षअघि गत कात्तिक ६ गते प्रधानमन्त्री केपी ओलीले ती बस उद्घाटन गरेका थिए । 





  • प्रकाशित मिति : भदौ २३, २०७६ साेमबार १५:५६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया