दुवै हातविहीन तर संघर्षशील सम्झना भन्छिन् : झमककुमारीबाट धेरै हौसला पाएकी छु

खोटाङ– दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिइन् । खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अ‌ंग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आएकी हुन् ।

मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिएकी थिइन् । निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मिएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढंगले अध्ययन गर्दै आएकी थिइन् । अहिले आमासँगै मावलीघर सोही गाउँपालिका–६ मा पर्ने इन्द्रेणीपोखरी बस्दै आएकी सम्झना आफैँ कपडा लगाउन, फेर्न तथा खाना खान सक्दिनन् । कुमदेखि नै हातको नक्सासमेत नभएकी सम्झना खुट्टाकै भरमा सबै काम गर्छिन् ।

भगवती दीनानाथ माविका नियमित तथा जेहेन्दार विद्यार्थीका रूपमा रहेकी सम्झना खुट्टाले नै लेखेर कक्षा–१ देखि ११ कक्षासम्म उत्तीर्ण भएकी हुन् । दुवै हात नभए पनि आफू पढाइ–लेखाइमा साथीहरुभन्दा कम नभएको उनको भनाइ छ ।

घरबाट एक घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय आवतजावत गर्नुपर्दा सुरु–सुरुमा विद्यालय छाडौँ जस्तो पनि लागेको उनले सुनाइन् । ‘विद्यालय टाढा भएकाले सुरु–सुरुमा पढाइ छाडौँ कि भन्ने लागेको थियो, तर मनले मान्दै मानेन । जसरी भए पनि पढ्नैपर्छ भन्ने लागेर दुःखकष्ट गरिरहेकी छु’, उनले भनिन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा आएर मौका परीक्षा दिइसकेपछि रासससँग कुरा गर्दै उनले भनिन्, ‘दाइ पनि मसँगै पढ्दै हुनुहुन्थ्यो तर अहिले छोड्नुभो, बुनुहरु पढ्दै छन् । शारीरिक रूपमा अशक्त भएकाले पनि मैले त झनै पढ्नैपर्छ भन्ने लागेर पढाइलाई निरन्तरता दिइरहेकी छु ।’

घरायसी काममै अल्झिएका सम्झनाका बुबाआमाको इच्छा पनि छोरीलाई धेरै पढाउनु नै रहेको उनले सुनाइन् । ‘आजसम्म त सबैको साथ सहयोगबाट पढियो, तर अब...’, गला अवरुद्ध पार्दै बोली नसक्दै अड्किइन् । 



सम्झनाको अबको अध्ययन यात्रा निश्चित छैन तर सम्झनासँग लगनशीलता, धैर्य र आत्मबल देखिएको छ । ‘शारीरिक हिसाबले म जस्ता र मभन्दा कमजोर अवस्थाकाले पनि धेरै राम्रो र ठूलो काम गरेर नाम कमाएका छन्’, उनी भन्छिन्, ‘मैले झमककुमारी घिमिरेलगायतका धेरै व्यक्ति शारीरिकरूपमा फरक भए पनि इतिहास लेख्न सफल बनेको देखेकी छु । उहाँहरुले गरेको काममा म पनि केही न केही गरेर आफ्नो नाम लेखाउन सक्छु भन्ने लागेको छ ।’

झमककुमारी घिमिरेलाई प्रत्यक्ष भेटेको उनले सुनाइन् । ‘धरानमा मैले उहाँलाई प्रत्येक्ष भेटेँ । उहाँले भेट्न बोलाउनुभएको रहेछ”, उनले भनिन्, ‘झमककुमारीबाट आफूले धेरै हौसला पाएकी छु । उहाँ त हिँड्न पनि सक्नुहुन्न रहेछ । उहाँले लेख्नुभएको ‘जीवन काँडा कि फूल’ पढेँ, साह्रै राम्रो लाग्यो, रोएँ पनि अनि धेरै कुरा बुझेँ पनि ।”



झमकुमारीको उक्त पुस्तकले आफूलाई जीवन र संघर्ष भन्ने बुझ्न मद्दत गरेको सम्झनाको भनाइ छ । सबैको माया र साथ पाए आफू पनि देश र समाजका लागि केही न केही गर्ने अठोट आफूभित्र रहेको उनको भनाइ छ । 

सम्झनाको अध्ययन निरन्तर अघि बढोस् भनेर यसअघि विभिन्न संघसंस्थाले सहयोग पनि गरेका छन् । करिब चार वर्षअघि खोटाङमा जन्मेर बेलायत (युके) लाई कर्मथलो बनाएका समाजसेवीको सामाजिक संस्था खोटाङ सेवा समाज युकेले चार लाख ६९ हजार ७ सय ६० सहयोग रकम प्रदान गरेको थियो । 

समाजले सम्झनाको उमेर १८ वर्षको हुँदासम्म ब्याज मात्र झिक्न मिल्ने र त्यसपछि साँवा रकम निकाल्न पाउने गरी चेक प्रदान गरेको थियो । युकेमा बसोवास गरिरहेका खोटाङेबाट संकलित रकम सम्झना र आमा सुमिता राईको नाममा जम्मा गरिएको थियो । 

पढाइसँगै गीत/संगीत र साहित्यमा समेत रुचि राख्ने सम्झनाका लागि यसअघि एरिया वेलफेयर सेन्टर दिक्तेलले पनि भौतिक सहयोग गरेको छ । नेपाल सरकारबाट भने मासिक ६०० रुपैयाँ भत्ता पाउने गरेको सम्झनाले बताइन् ।

  • प्रकाशित मिति : भदौ २३, २०७६ साेमबार १६:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया