निगमको जापान उडानले पर्यटनमा उत्साह

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ओसाका (जापान) सिधा उडानले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।

निगमले १३ वर्षको अन्तरालपछि पहिलो पटक वाइड बडी ए–३३०–२०० जहाजमार्फत यही भदौ १२ गतेदेखि ओसाका कन्साई इन्टरनेसनल एयरपोर्टमा सीधा उडान सुरु गरेको छ । यसअघि अक्टोबर ३ सन् १९९४ मा निगमले ओसाका उडान सुरु गरेको थियो । सो उडान काठमाडौं र चीनको सांघाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष अभियानको सँघारमा निगमले जापान सीधा उडान गरेसँगै यसले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने देखिन्छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सोही अवधिमा जापानबाट मात्रै २९ हजार ८ सय १७ पर्यटक नेपाल आए । सन् २०१७ मा २७ हजार ३ सय २६ जापानी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

जापान सीधा उडान भएपछि पर्यटकको आगमन बढ्ने विश्वास लिएको निगमले वार्षिक ४० हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षलाई  लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलको भनाइ छ ।
 
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले निगमको जापान सिधा उडानले बढीभन्दा बढी जापानी पर्यटक नेपाल भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छिन् । उनले नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै दूतावासले जापानको टोकियो, ओसाकालगायत सहरबाट जापानीलाई नेपाल गन्तव्य भ्रमणका लागि आकर्षित गर्ने प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइएको जानकारी दिइन् ।

सन् १९५६ देखि नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् आपसी सम्बन्धका विविध पक्षमा विस्तार हुँदै गएको छ । दुई देशबीचको परम्परागत सांस्कृतिक र कूटनीतिक सम्बन्ध मात्र नभई जापान नेपालको असल विकास साझेदार मुलुक पनि हो ।

सांसद रमेशजंग रायमाझी पनि निगमको जापान सीधा उडानले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाललाई विनास्वार्थ सहयोग गर्ने मुलुक जापानले नेपाललाई माया गर्ने भएकाले नेपालीसँगै जापानीलाई नेपाल भित्र्याउन सहयोग पुग्ने बताए ।

सांसद सुदन किराँतीले राष्ट्रिय ध्वजाबाहकको काठमाडौं–ओसाकाको उडानले आर्थिक समृद्धिको मेरुदण्डको रूपमा लिइने पर्यटन क्षेत्र र नजिकिएको भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने बताए । ‘वाइड बडीको उडान सीधै टोकियो नारितासम्म उडान गर्न पाएको भए झनै उपयुक्त हुने थियो, तैपनि लामो समयदेखि अवरुद्ध उडान प्रारम्भ भएको छ, यसले मुलुकको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु,’ उनले भने । 



अर्का सांसद प्रदीप यादवको विचारमा निगमको जापान उडान सराहनीय छ, यसको व्यवस्थापनलाई थप प्रभावकारी बनाई सेवालाई निरन्तरता, गन्तव्य विस्तार र सेवा स्तरीकरणमा ध्यान दिन जरुरी छ ।

निगमको ओसाका उडानबाट पर्यटन व्यवसायीमा पनि नयाँ उत्साह पैदा भएको छ । विनाझन्झट सीधा र सहज उडानले जापानी पर्यटकलाई नेपाल आगमनमा सहज हुने उनीहरुको विश्वास छ । जापानी पर्यटकलाई नेपाल आकर्षण गर्ने सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत महत्वपूर्ण स्थल छन् ।



त्यसैले धेरै संख्यामा जापानी नेपाल आउने गरेका छन् । जापानीहरु जापान–काठमाडौं सीधा उडानको प्रतीक्षामा रहेकाले निगमको सीधा उडानले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने पर्यटन व्यवसायी श्यामराज थपलियाको विश्वास छ । 

जापानीले नेपाल र नेपालीलाई धेरै माया गर्ने भएकाले पनि सीधा उडान हुँदा नेपाल गन्तव्य घुम्न र यहाँका विविध पक्षमा रमाउन जापानी ठूलो संख्यामा नेपाल आउन सक्नेछन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सिएन पाण्डेले भ्रमण वर्षको सन्दर्भमा बढीभन्दा बढी जापानी पर्यटक नेपाल आकर्षण गर्न निगमको सीधा उडानले सहयोग पुग्ने बताए । उनले निगमको उडान सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउन प्रभावकारी बजारीकरण तथा उडानलाई निरन्तरता दिइनुपर्ने खाँचो औँल्याए । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष चन्द्र रिजालले निगमको सीधा उडान सस्तो र विना झन्झटिलो हुने तथा आफ्नै ध्वजाबाहक भएकाले सुरुआती चरणमा केही घाटा भए पनि जापानी पर्यटक नेपाल आउँदा मुलुकलाई नै फाइदा पुग्ने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

ओसाकामा विगत २६ वर्षदेखि बस्दै आएका सुनील केसीले जापान सरकारले पछिल्लो समय ओसाका पर्यटन विकासमा सम्पूर्ण ध्यान केन्द्रित गरेकोले यहाँ आउने पर्यटकलाई नेपाल आकर्षण गर्ने उपयुक्त आधार निगमको ओसाका सीधा उडान भएको उल्लेख गरे ।

जापानमा करिब ११ करोड जनसंंख्यामध्ये ओसाकामा मात्रै दुई करोडभन्दा बढी छन् । जापानमा टोकियो, ओसाका, योकोहामालगायत मुख्य सहर हुन् । जापानमा ९० हजारभन्दा बढी नेपालीको बसोवास रहेको बताइन्छ । तीमध्ये आठ हजार ओसाकामा बस्छन् । शिक्षा, ‘हस्पिटालिटी’ तथा रेष्टुराँ व्यवसायमा काम गर्ने नेपाली धेरै छन् ।

नेपालीहरू जापानका पाँचतारे होटेलमा ‘बेडमेकिङ’ मा काम गर्छन् । जापानमा बढी चिनियाँ पर्यटक भेटिन्छन् । ‘वाटर अफ सिटी’को रूपमा चिनिएको ओसाकाको पुरानो दरबार ‘ओसाका क्यास्टल’ मा धेरै पर्यटक पुग्छन् । ‘अकुवारियम’ ‘दाइमारु सिंसाईबासी’ लगायत स्थान ओसाकाका पर्यटकीय क्षेत्र हुन् ।
 
निगमले हाल साताको दुई दिन शनिबार र मंगलबार ओसाकाको नियमित उडान गरिरहेको छ । हाललाई निगमले प्रवद्र्धनात्मक भाडादर दुईतर्फी ७२ हजार ८ सय र एकतर्फी ३७ हजार निर्धारण गरेको छ । 

  • प्रकाशित मिति : भदौ २३, २०७६ साेमबार १७:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया