ट्विटरमा सर्वाधिक पछ्याइएका विश्वका ५ नेता

काठमाडौं–  अहिले विश्वभर सामाजिक सञ्जालको क्रेज छ । पहिले मनोरञ्जनका लागि बढी प्रयोग हुने सामाजिक सञ्जाल अहिले व्यवसाय प्रवद्र्धन, सूचना प्रवाह, राजनीतिक प्रचारका साथै सार्वजनिक पदका व्यक्ति तथा निकायका धारणा सार्वजनिक गर्ने माध्यमका रुपमा पनि उत्तिकै प्रयोग हुन थालेको छ । 

विशेष गरी सामाजिक सञ्जाल ट्विटरलाई अहिले विश्वका ठूला नेताहरुले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने माध्यमका रुपमा प्रयोग गर्दै आएका छन् । पहिले प्रेस विज्ञप्ति र पत्रकार सम्मेलनबाट आएका धारणालाई आधिकारिक मानिन्थ्यो भने अब ‘पब्लिक फिगर’का ट्विटलाई पनि समाचारको उत्तिकै आधिकारिक स्रोतका रुपमा लिन थालिएको छ । 

उसो त, सबै सार्वजनिक व्यक्तित्व ट्विटर चलाउँछन् भन्ने होइन । पछिल्लो समय विश्वका सबैजसो क्षेत्रका धेरैजसो सार्वजनिक व्यक्तिले कुनै न कुनै सामाजिक सञ्जाल प्रयोग गर्न थालेकोचाहिँ हो । त्यसमा सबैभन्दा अगाडि ट्विटर र फेसबुक छन् । 

ट्विटर चलाउनेमध्ये विश्वकै सबैभन्दा चर्चित नेता अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा हुन् । उनलाई ट्विटरमा १० करोडभन्दा धेरैले पछ्याएका छन् । यो सूचीमा दोस्रो नम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन् भने तेस्रोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छन् । 

यी हुन् ट्विटरमा सबैभन्दा धेरै पछ्याइएका विश्वका ५ नेता– 

बाराक ओबामा



सन् २००९ देखि २०१७ सम्म अमेरिकाको राष्ट्रपति रहेका अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाका १० करोड ८३ लाख ट्विटर फलोअर छन् । २००७ देखि नै पूर्वराष्ट्रपति ओबामा ट्विटरमा सक्रिय छन् । राष्ट्रपतीय निर्वाचनका बेला चुनाव प्रचार–प्रसारमा पनि उनले ट्विटरको राम्रो उपयोग गरे । विश्वमाझ ओबामाले सरल, तार्किक र नरमपन्थी नेताको छवि बनाएका छन् । त्यसैले पनि उनलाई विश्वभरका मानिसले रुचाउँछन् । 

ओबामाका फलोअर मात्र धेरै छैनन्, उनले पनि धेरैलाई फलो गरेका छन् । ओबामाको धरैले मन पराउने गुण नै हो कि उनी चिनेजानेका जति सबै फलोअरलाई फलोब्याक गर्छन् । अहिलेसम्म १५ हजारभन्दा बढी ट्विट गरेका ओबामाले ६ लाखभन्दा बढीलाई फलो गरेका छन् । त्यसैले पनि होला, ट्विटर प्रसिद्धिमा अरु कुनै नेता ओबामाको छेउछाउ पनि आइपुगेका छैनन् । 



डोनाल्ड ट्रम्प

ओबामापछिका सर्वाधिक फलो गरिएका नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । ट्रम्प ट्विटरमा ओबामाभन्दा पनि बढी सक्रिय छन् । उनी ट्विटरलाई आधिकारिक धारणा सार्वजनिक गर्ने माध्यमका रुपमा प्रयोग गर्छन् । 

ट्रम्पको स्वभाव भने ओबामाको भन्दा ठ्याक्कै उल्टो छ । उनी हमेसा राष्ट्रपतिको ओहदा सुहाउँदो अभिव्यक्ति मात्र दिँदैनन् । बेलाबखत अलि कडै टिप्पणी गर्छन् । खरो र चरमपन्थी स्वभावका ट्रम्प आफ्ना अभिव्यक्तिका कारण कहिलेकाहीँ विवादमा पनि तानिन्छन् ।

सन् २००९ देखि ट्विटर चलाउन थालेका ट्रम्पले ४४ हजारभन्दा बढी ट्विट गरिसकेका छन् । उनले फलो भने जम्मा ४७ जनालाई गरेका छन् । 

नरेन्द्र मोदी

छिमेकी देश भारतका ‘सेलेब्रिटी’ प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी ट्विटरमा सबैभन्दा धरै फलो गरिएका विश्वका तेस्रा राजनीतिज्ञ हुन् । भर्खरै ट्विटरमा उनका ५ करोड फलोअर पुगेका छन् । योसँगै, नरेन्द्र मोदी विश्वकै सर्वाधिक फलो गरिएका (सबै क्षेत्रका) २० जनामा पर्ने पहिलो भारतीय बनेका छन् । 

भारतीय राजनीतिज्ञका रुपमा नरेन्द्र मोदीको ‘फलोइङ’ अस्वाभाविक रुपमा धेरै छ । दोस्रो नम्बरमा रहेका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको भन्दा उनका फलोअर तीन गुणाभन्दा बढी छन् । 

हुन त मोदी सन् २००९ देखि नै ट्विटरमा सक्रिय थिए । तर, सन् २०१४ प्रधानमन्त्री बनेपछि भने ट्विटरमा उनको प्रसिद्धि ह्वात्तै बढ्यो । प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदी ट्विटरलाई आफ्नो धारणा सार्वजनिक गर्ने माध्यमका रुपमा प्रयोग गर्छन् । उनले प्रधानमन्त्री कार्यालयको नाममा पनि ट्विटर ह्यान्डल बनाएका छन् । त्यसमा पनि उनका ३ करोडभन्दा बढी फलोअर छन् । 

नरेन्द्र मोदीले अहिलेसम्म साढे २४ हजारजति ट्विट गरेका छन् भने २२ सय जनाभन्दा बढीलाई फलो गरेका छन् । 

हिलारी क्लिन्टन

अमेरिकी पूर्व विदेशमन्त्री तथा राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टन ट्विटरमा सबैभन्दा बढी पछ्याइएका राजनीतिज्ञमा चौथो नम्बरमा पर्छिन् । राष्ट्रपतिको दौडमा पहिलोपटक डेमोक्रेटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा बाराक ओबामासँग हारेकी र ओबामाकै सरकारमा विदेशमन्त्री भएकी हिलारीले दोस्रोपटक पार्टीबाट उम्मेदवार चुनिएर वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गरेकी थिइन् । उनी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हुन् ।

हिलारीले पहिलो अमेरिकी महिला राष्ट्रपति बन्ने सौभाग्य त पाइनन्, तर पनि उनले विश्वभर ख्याती भने बटुलिन् । कार्यकारी प्रमुख भएकालाई छाडेर ट्विटरमा हिलारी विश्वकै सबैभन्दा बढी पछ्याइएकी राजनीतिज्ञ हुन् । 

सन् २०१३ देखि ट्विटर चलाउन थालेकी हिलारीका झन्डै २ करोड ५४ लाख फलोअर छन् । उनले भने ८ सय जनाजतिलाई फलो गरेकी छिन् । सात वर्षमा हिलारीले ११ हजारभन्दा बढी ट्विट गरेकी छिन् । 

रिसेप तैयप अर्डोगान

टर्कीका राष्ट्रपति रिसेप तैयप अर्डोगान ट्विटरमा सबैभन्दा बढी पछ्याइएका राजनीतिज्ञमा पाँचौँ नम्बरमा पर्छन् । आफ्नो देशको जनसंख्याको अनुपातमा हेर्ने हो भने त उनको फलोइङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा कम छैन । 

ट्रम्प र मोदीजस्तै अर्डोगान पनि ट्विटरबाटै आफ्ना धारणा सार्वजनिक गर्छन् । उनी प्रायः टर्किस भाषामै ट्विट गर्छन् । 

ट्विटरमा अर्डोगानलाई १ करोड ४० लाखभन्दा बढीले पछ्याएका छन् । उनले भने जम्मा ९५ जनालाई फलो गरेका छन् । सन् २००९ देखि ट्विटर चलाउन थालेका अर्डोगानले अहिलेसम्म ६ हजारजति ट्विट गरेका छन् । 

ट्विटरमा धेरै पछ्याइएका राजनीतिज्ञको सूचीमा छैटौँ नम्बरमा गत महिना निधन भएकी भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको ह्यान्डल छ । सातौँ नम्बरमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो छन् । आठौँमा जोर्डनकी रानी रानिया, नवौँमा भारतीय कांग्रेस आईका नेता राहुल गान्धी र दशौँ नम्बरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान छन् । 

  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार ०:२३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया