राष्ट्रिय परिचयपत्र विवरण संकलनमा तनहुँमा उत्साहजनक सहभागिता

तनहुँ– राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा एक हजार एक सय ५ ले विवरण दर्ता गराएका छन् । साउन ६ गतेदेखि भदौ १८ गतेसम्म परिचयपत्रका लागि उक्त विवरण दर्ता गरिएको हो । विवरण संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र फिल्ड कार्यालय स्थापना गरिएको छ ।

फिल्ड कार्यालयका सुपरभाइजर मुना रिजालले दैनिक २०–२५ ले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेको जानकारी दिए । उनले भने, ‘प्रशासन कार्यालयबाट नागरिकता बनाएलगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ’, रिजालका अनुसार विवरण दर्ताका लागि सर्वसाधारणमा उत्साह छाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रशासन कार्यालयकै एउटा कोठामा फिल्ड कार्यालय स्थापना गरी विवरण संकलनको व्यवस्था मिलाइएको जानकारी दिए । प्रजिअ पण्डितका अनुसार नयाँ नागरिकता जारी हुनेबित्तिकै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ । 

प्रजिअ पण्डितका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँला छाप (१० वटा), आँखाको नानी, तस्बिर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । 

विवरण दर्ताका लागि तीन कर्मचारी परिचालन गरिएको छ । चालू आर्थिक वर्षमा सबै स्थानीय तहका वडासम्म पुगेर विवरण संकलन गर्ने तयारी गरिएको छ । ‘अहिले कार्यालयमै सर्वसाधारणले परिचयपत्रका लागि विवरण दर्ता गराउन सक्छन्’, उनले भने, ‘चालू आर्थिक वर्षमा वडा–वडामै पुगेर विवरण दर्ताको व्यवस्था मिलाइनेछ ।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित राष्ट्रसेवक कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरेको छ । यही साउनदेखि प्रदेश नं १ को झापा र संखुसवासभा, प्रदेश नं २ का सप्तरी र महोत्तरी, प्रदेश नं ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशको अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन सुरु भएको छ ।



नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा–सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्यांक तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवाप्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । 



राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ । 

  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार १५:२६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया