उर्मिला मातोन्डकरले छाडिन् कांग्रेस, 'गुटबन्दीले टिक्न दिएन'

नयाँ दिल्ली– भारतीय कांग्रेसकी नेत्री, बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले पार्टी परित्याग गरेकी छिन् ।

गएको लोकसभा निर्वाचनमा उत्तरी मुम्बईबाट चुनाव लडेकी उर्मिला भाजपा उम्मेदवारसँग झन्डै ४ लाख भोटले हारेकी थिइन् । चुनाव हारेपछि प्रतिक्रिया दिँदै उनले इलेक्ट्रोनिक भोटिङ मेसिनको विश्वसनीयतामाथि प्रश्न उठाएकी थिइन् । भारतमा चुनाव हार्नेले भोटिङ मेसिनलाई दोष दिने चलन पुरानै हो ।

यसका साथै, उनले चुनाव हार्नुमा पार्टीका स्थानीय नेतालाई जिम्मेवार ठहर्याएकी थिइन् । पार्टीको कमजोर रणनीति, कार्यकर्ताहरुको असहयोग र चुनाव खर्चको कमीका कारण आफूले हार्नुपरेको भन्दै उनले मुम्बई कांग्रेसका तत्कालीन अध्यक्ष मिलिन्द देवडालाई पत्र लेखेकी थिइन्, जुन मिडियामा लिक भएको थियो । 

‘मेरो राजनीतिक र सामाजिक समझ ठूलो लक्ष्य हासिल गर्नका लागि हो, तर मुम्बई कांग्रेसको आन्तरिक गुटबन्दीका कारण यस्तो गर्न सकिरहेकी छैन,’ ६ महिनाअघि लोकसभा निर्वाचनको मुखैमा कांग्रेस प्रवेश गरेकी उर्मिलाले मंगलबार राजीनामा दिँदै भनिन्, ‘पहिलोपटक मनमा राजीनामाको विचार त्यतिबेलै आएको थियो, जतिबेला मेरो पत्रमाथि तत्कालीन अध्यक्षले कुनै एक्सन लिएनन् । त्यसपछि, त्यो गोप्य संवादलाई सजिलै मिडियामा लिक गरियो । त्यो ममाथिको छल थियो ।’

केही दिनअघि उर्मिलाले जम्मु–कस्मिरमा लामो समय फोन र इन्टरनेट बन्द गरेकोमा मोदी सरकारको आलोचना गरेकी थिइन् । कस्मिरी मूलका व्यापारी मोहसिन अख्तरसँग विवाह गरेकी उर्मिलाका सासू–ससुरा जम्मु–कस्मिरमै बस्छन् । 





  • प्रकाशित मिति : भदौ २४, २०७६ मंगलबार २३:७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया