एजेन्सी– पछिल्लो समय नेपालमा सोलार प्यानल राख्ने कुरा मात्र होइन, सोलार गाडीहरुबारे पनि बहस सुरु हुन थालेको छ ।
सरकारले पनि सौर्य ऊर्जाको प्रयोग बढाउनका लागि विभिन्न सहुलियत ऋण दिने कार्यक्रमहरु ल्याएको छ । अझै पनि सौर्य ऊर्जाबाट चल्ने सामानको खरिदबारे सरकारले उदार नीति लिएको प्रष्ट छ ।
नेपालमा मात्र होइन, सौर्य ऊर्जाको खपत विश्वमा नै बढाउनु पर्ने माग बढिरहेको छ । विश्वमा यस विषयमा नयाँ नयाँ खोज बढिरहेका छन् ।
घामको किरणलाई ऊर्जाका रुपमा प्रयोग गर्ने प्रचलन एकदम नयाँ होइन । पूर्वआधुनिक सभ्यताहरुले पनि ऊर्जाको स्रोतका रुपमा घामको किरण प्रयोग गरेका थिए । तर, यो वृहत् रुपमा थिएन । सामान्य घरेलु प्रयोजनका लागि सौर्य ऊर्जा प्रयोग हुँदै आएको थियो ।
इतिहासलाई हेर्ने हो भने झन्डै ३ हजार वर्ष पहिले चीनमा प्याराबोलिक मिरर प्रयोग गरिन्थ्यो । यसले घामको किरणलाई एकिकृत गर्न सहयोग गथ्र्यो । त्यहाँबाट निस्किएको राप र ऊर्जालाई प्रयोग गरेर मासु पोल्ने काम चीनमा गरिन्थ्यो ।
त्यसको केही पछि सोलार थर्मल प्रणालीको विकास भयो । यो प्रविधिले हिउँदमा घामको किरण प्रयोग गरेर पानी तताउने काम गर्न थाल्यो । फोटोभोल्टिक सेलको आविष्कार भएपछि सौर्य ऊर्जाको उपयोगिताबारे नयाँ बाटोहरु खुल्न थाले । तर, यसको प्रयोग धेरै बढ्न सकेन ।
पहिले फोटोभोल्टिक सेल बनाउन सेलेनियमको प्रयोग गरियो । यो महङ्गो भयो । सन् १९५४ मा बेल ल्याबका वैज्ञानिकहरुले सिलिकनका कणमा घामको किरणले विद्युतीय तरंग निकालेको थाहा पाए । यो खोजपछि सौर्य ऊर्जाको क्षेत्रमा नयाँ युगको थालनी भयो । यो सस्तो पनि भयो, प्रभावकारी पनि भयो ।
सन् १९५८ मा अमेरीकन स्याटलाइट भान्गार्ड १ ले यो प्रविधिको प्रयोग पहिलो पटक गर्यो । ६ वटा सिलिकनले बनेका पिभी सेल बोकेर उक्त स्याटलाइट पृथ्वीको कक्षमा गयो ।
यसको उपयोगिता त बढ्न थाल्यो तर यो अझै पनि महङ्गो हुँदै गयो । सन् १९७० को दशकमा सौर्य ऊर्जाबाट एक वाट बिजुली निकाल्न १०० अमेरिकी डलर लाग्थ्यो ।
सन् २०१६ मा आइपुग्दा त ५० सेन्टमा मात्र एक वाट बिजुली निकाल्न सकिने भयो । यो क्रम वा खर्च अझै घट्दै गइरहेको छ । सन् १९३० मा अमेरिकी एरोनोटिकल इन्जिनियर उत्पादनसँग सम्बन्धी रहेर एउटा लेख निकाले । उनको द लर्निङ कर्भ नामको त्यो सिद्धान्त सौर्य ऊर्जा उत्पादनमा निकै प्रभावकारी देखिन थाल्यो ।
चीनले पछिल्लो समय सौर्य ऊर्जा उत्पादनमा विशेष चासो देखाइरहेको छ । अहिले बजारमा आएका कतिपय सेलार प्यानलहरु साँच्चिकै सस्तो दरमा पाउन सकिन्छ ।
अब त विश्वमा नै सौर्य ऊर्जालाई पेट्रोलियम पदार्थमाथिको निर्भरता हटाउन विकल्पका रुपमा लिन थालिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।