टेस्ट क्रिकेटमा स्मिथ र विराट काे अगाडि ?

एजेन्सी– अहिले टेस्ट क्रिकेटमा अस्ट्रेलियन खेलाडी स्टिभ स्मिथ र भारतीय खेलाडी विराट कोहलीममा को अगाडि हुने भन्नेमा बेजोड प्रतिस्पर्धा चलिरहेको छ । उनीहरु एकले अर्कालाई कडा टक्कर दिइरहेको छन् ।

आइसिसीको नयाँ टेस्ट वरीयताअनुसार अहिले स्टिभ स्मिथ एक नम्बरमा रहेका छन् । उनीलगत्तैको दोस्रो वरीयतामा  विराट कोहली रहेका छन् । स्टिभ स्मिथ कोहलीभन्दा ३४ अंकले अगाडि छन् । अहिले स्मिथको ९३७ अंक रहेको छ भने कोहलीको ९०३ अंक रहेको छ । 

अहिले चलिरहेको एसेज शृंखलामा राम्रो प्रदर्शन गरेका कारण एक वर्षको प्रतिबन्धपश्चात् पनि स्मिथ एक नम्बरमा आएका छन् । तर, वेस्ट इन्डिजसँगको खेलमा खासै राम्रो प्रदर्शन गर्न नसक्दा विराट कोहली पछि परे ।  

अहिले यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने विषयमा ठूलै बहस हुने गरेको छ । यद्यपि, दुईलाई एक–अर्कासँग तुलना गर्न नमिल्ने क्रिकेटका जानकार बताउँछन् । प्रसिद्ध क्रिकेट जानकार अजय मेनन भन्छन्, विराट कोहलीको प्रदर्शन २०१४ यता उत्कृष्ट छ, तर स्टिभ स्मिथ जिनियस खेलाडी हुन्, उनको जस्तो ब्याटिङ गर्ने खुबी अन्य कुनै क्रिकेटरमा छैन ।’

वरिष्ठ खेल पत्रकार धर्मेन्द्र पन्त भन्छन्, ‘विराट कोहली क्रिकेटका सबै प्रारूपमा उत्कृष्ट छन्, तर टेस्ट क्रिकेटमा स्मिथको कुनै जवाफ छैन, जुन कुराको पुष्टि उनको पुनरागमनले गरेको छ ।’  

स्टिभ स्मिथको प्रदर्शनलाई हेर्ने हो भने सन् २०१० यता उनले ६७ खेलमा ६४.८१ को औसतमा ६८७० रन बनाएका छन् । जसमा २६ शतक र २६ नै अर्धशतक सामेल छ । 



त्यस्तै, विराट कोहलीको प्रदर्शनलाई हेर्दा उनले सन् २०११ यता ७९ खेलमा ५३.१४ को औसत ६७४९ रन बनाएका छन् । जसमा २५ शतक र २२ अर्धशतक सामेल छ । 

आँकडालाई हेर्ने हो भने पनि टेस्ट क्रिकेटमा स्मिथ नै अगाडि देखिन्छन् । तर, एक दिवसीय र टी–२० मा भने कोहली नै अगाडि रहेका छन् । 
 



  • प्रकाशित मिति : भदौ २७, २०७६ शुक्रबार १७:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया