महाभारतको एउटा कहानी हाम्रो समाजमा एकदमै प्रचलित छ । युद्धका लागि आर्थिक सहयोग माग्न भीम र युधिष्ठिर धनराज कुवेर कहाँ पुग्छन् । उनीहरु कुवेरकहाँ पुग्दा, उनी औँलामा थुक लगाउँदै भुइँमा झरेका तोरीका गेडा टिप्दै थिए । धनका देवताको यस्तो चाला देखेर पाण्डव दाजु–भाइ छक्क परेका थिए ।
यो कथाको सार भनेको धनको बचत कसरी गर्ने भन्ने हो । कथामा तोरीका गेडाले, सानो–सानो रकमलाई जनाउँछ । मान्छे त्यसै धनी बन्न सक्दैन । धनको बचत र सही सदुपयोग गर्न सक्ने मान्छे मात्र कुवेर बन्न सक्छ ।
धन अर्थत् पैसाको महत्व बुझेको मान्छेले कहिले पनि अभावको सामना गर्नुपर्दैन । पैसाको सही व्यवस्थापन गर्ने कला के बालक के वृद्ध सबैलाई आवश्यक छ । यहाँ पैसाको व्यवस्थापन गर्ने सात तरिका प्रस्तुत गरिएको छ :
१. निजी बजेट बनाउने
बजेट भन्नेबित्तिकै हामीलाई सरकारको बजेट भाषणको याद आउन सक्छ । हो, जसरी सरकारले आफ्नो खर्च र आम्दानीको हिसाब राख्छ । हामीले पनि आफ्नो खर्च र आम्दानीको आकलन गरेर राख्न सक्यौँ भने पैसाको उचित व्यवस्थापन गर्न सक्छौँ ।
२. निजी बजेटको प्रयोग गर्ने
बजेट बनाइसकेपछि, हामीले पैसा कहाँ र कसरी खर्च भइरहेको छ, थाहा पाउन सक्छौँ । केमा खर्च गर्ने ? केको खर्च कटौती गर्ने ? यी तमाम प्रश्नको जवाफ हामीले आफ्नो निजी बजेटबाट पाउन सक्छौँ ।
३. खर्चको सीमितता तोक्ने
हामीकहाँ एउटा उखान छ, दुई पैसाको उत्पत्ति छैन, पाँच पैसाको खति । पैसाको व्यवस्थापन गर्ने कला सिक्न चाहनेले यो उखानलाई सधैँ ध्यानमा राख्नुपर्छ । कमाइअनुसार खर्चको लिमिट तोक्न सिक्नुपर्छ ।
४. किनमेल गर्दा तिरेकोे मूल्य कत्तिको उचित छ बुझ्ने
बजारमा एकैथरीका सामान अनेक मूल्यमा पाइन्छन् । तपाईंले तिरेका रकम कति उचित छ, जानकारी लिनुस् । सस्तो चिजलाई महँगो दाम नहाल्नुस् । यसरी खर्च निकै कम गर्न सकिन्छ ।
५. ठूलो खरिदको लागि वेलैदेखि बचत गर्नुस्
हिजोआज ऋणमा सामान किन्ने प्रचलन बढ्दो छ । यसरी इएमआईमा सामान खरिद गर्दा बैंक वा वित्तीय संस्थाले सामानको दाममा ब्याज अगाडि नै जोडेका हुन्छन् । ठूलो सामान खरिद गर्नुअघि केही समय लिनुस् । कम खर्चिलो स्रोतको पैसाले मात्र यस्ता खरिद गर्नुस् ।
६. नियमित बचत गर्नुस्
लेखको सुुरुवातको कथा सम्झनुस् त । बचत गर्न जान्नु नै धनी हुन सक्ने मान्छेको पहिलो निशानी हो । बचत गर्न नजानेको मान्छे कहिले पनि धनी बन्न नसक्ने कुरा वारेन बफेटले बताउँदै आएका छन् । आम्दानीको केही अंश नियमित रूपमा बचतको लागि छुट्याउनुहोस् । बचत गर्ने बानीले धन त सञ्चित गर्छ नै, धैर्यवान् बनाउन पनि मद्दत गर्छ ।
७. पैसाको व्यवस्थापनका लागि निरन्तर अभ्यास
सुुरुवातमा हरेक कुरा कठिन हुन्छ । तर, केही मिहिनेत र अभ्यासले जस्तो कठिन काम पनि सिक्न सकिन्छ । यहाँ उल्लेख गरिएका कुरा नियमित रुपमा अभ्यास गर्न सके, तपार्ईंले पैसाको मात्र होइन, आफ्नो जीवनको पनि सही व्यवस्थापन गर्न पक्कै सक्नु हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।