गितारिस्ट सन्जीव बराइलीलाई गितारबारे २० प्रश्न

काठमाडौं– सहरमा गितार प्रेमी तथा गीतहरु सुन्न मन पराउने पुस्ताले पक्कै पनि सन्जीव बराइलीको नाम सुनेको हुनुपर्छ । उनी अहिलेका सबैभन्दा चलेका गितारिस्ट हुन् । झन्डै १५ सय गीतमा आफ्नो गितारको जादू देखाइसकेका सन्जीवसँग फरक धारका कमल विष्टले गितारमा मात्र केन्द्रित रहेर केही प्रश्न सोधेका छन् । ती प्रश्नको उत्तर सन्जीवले दिएका छन्— 

पहिलो पटक गितार कति वर्षको हुँदा बजाउनु भयो ? 
त्यस्तै ८ वर्षको थिएँ होला ।

त्यति बेला कोबाट प्रेरित भएर गितार बजाउनु भयो ? 
म त्योबेला झापामा पढ्थेँ । मेरो एकजना नजिकका नातेदार र साथी थियो किरण रसाइली । ऊ म भन्दा एक वर्ष कान्छो थियो । उसलाई मैले स्कुलमा र उसकै घरमा गितार बजाएको देखेको थिएँ । ऊ राम्रो गितार बजाउथ्यो । उसले बजाएको देख्दा मैले पनि सिक्न पाए त राम्रो बजाउन सक्थे हुँला भन्ने लाग्यो । मलाई पनि गितार सिकाउन उसलाई अनुरोध गरेँ । स्कुलमा गितार सिक्ने त्यति फुर्सद हुँदैनथ्यो । म उसकै घरमा गएर गितार सिक्न थालेँ । 

पहिलोपटक कहिले गितार किन्नुभयो ? 
म किरणसँग गीतर सिकिरहेको बेला मसँग आफ्नै गितार थिएन । मैले पहिल्यैदेखि गितार किनिदिनु भनेर घरमा भनिरहेको थिएँ । तर, घरको आर्थिक अवस्था त्यति राम्रो थिएन । पछि म बिरामी परेँ । त्यति बेला मैले गितार नपाएसम्म अस्पताल नै जान्नँ भनेर ढिपी गरेँ । त्यही कारणले बुबाले सेकेन्ड ह्यान्ड गितार ल्याइदिनुभयो । अनि मलाई गितार सिक्ने कक्षामा पनि भर्ना गरिदिनुभयो । 

 

याे पनि पढ्नुहाेस् :



जसले गितार बजाएरै काठमाडौंमा घर बनाए

 



पहिलोपटक गितार कुन कार्यक्रम वा स्टेजमा बजाउनु भयो ? 
स्कुलका कार्यक्रमहरुमा बजाइरहेकै हुन्थेँ । ८–९ क्लासमा पढ्दा हामी केही साथीहरु मिलेर ‘पिस’ भन्ने व्याण्ड नै खोलेका थियौ । जे होस् हामी कन्सर्टहरु गरिरहकै हुन्थ्यौ । अहिले उनीहरु कहाँ छन् के गरिरहेका छन् भन्ने चाहिँ मलाई पनि थाहा छैन ।

गितार कसरी सिक्नुभयो, सुरुमा कुन ‘कर्ड’ सिक्नुभयो ? 
मलाई ठ्याक्कै याद त छैन । ‘ए’ हो कि जस्तो लाग्छ । किन भने त्यो कर्ड अरुभन्दा तुलनात्मक रुपमा सजिलो हुन्छ । एउटै बारभित्र सबै औला राख्न मिल्ने भएकाले पनि । 

सबैभन्दा मन पर्ने ‘कर्ड’ ?
त्यो त मुडमा भर पर्छ । तर मलाई आफू जस्तो मुडमा भए पनि ‘इ कर्ड’ सधैं मन पर्छ । इ मेजर बजाउँदा झ्याम्मै मनमा एउटा फरक भाइव उत्पन्न हुन्छ । शान्त तलाउमा बिस्तारै ढुङ्गा हान्दा जसरी छालहरु तरङ्गित हुन्छन्, त्यस्तै भाव उत्पन्न हुन्छ मनमा पनि इ मेजर प्ले हुँदा । 

सबैभन्दा मन पर्ने ‘बिट’ ?
थ्री बाइ फोर । 

तपाईंलाई सबैभन्दा मन पर्ने गितारिस्ट कोको हुन् ? 
धेरै छन् । एन्गुस योङ, स्टिभ मोर्स, एरिक जोनसन, एण्डी टिमोरलगायत ।

के मन पर्छ ‘एन्गुस योङ’ को ?
उनको गितार बजाउने शैली भिन्न र रमाइलो खालको छ । 

तपाईंलाई कुन ब्रान्डको गितार मनपर्छ ? 
यो त गितारको नेचरले निर्धारण गर्छ । इलेक्ट्रिकमा पिआरएस, फेन्डर कम्पनीको मन पर्छ, एकोस्टिकमा टेलर मन पर्छ । अरु पनि छन् मन पर्ने ब्राण्डहरु । 

अहिले तपाईंसँग कतिवटा गितार छन् ?
धेरै थिए । कति बिग्रिएर गए, कति साथीलाई दिएँ । अहिले त दसवटा छन् । 

सबैभन्दा महङ्गो गितार कति मूल्यको छ ? 
अढाई लाख । तर, अब अहिले त्यसले पनि पुगिरहेको छैन । 

आफैले कमाएर सबैभन्दा महंगो गितार कुन किन्नुभयो ? कहिले ? कति पैसाको ?
मैले आफ्नै पैसाले किनेको पहिलो गितार पनि सेकेन्ड ह्याण्ड नै थियो । एसएलसीपछि म बाबाआमासँग पढ्न काठमाडौं आएँ । ०६४ सालमा मैले एकजना सँग सात सयमा गितार किनेँ । त्यो गितारको अवस्था साह्रै नराम्रो थियो । त्यसको बार निकै माथि उठेको थियो । त्यति बेला मलाई राम्रा गितारबारे नै थाहा थिएन । त्यही वर्ष मैले अर्को पनि गितार किनेँ, ४८०० रुपैयाँको । 

काठमाडौंमा पहिलो पटक गितार बजार पर्फमेन्स कहाँ गर्नुभयो ?
काठमाडौं आएकै साल मैले नेपाल पर्यटन बोर्डमा एउटा कार्यक्रममा बजाउन पाएँ । त्यो विश्व संगीत दिवसको दिन थियो । मलाई आयोजकले एउटा खाम दिनुभएको थियो, त्यसमा पाँच सय रुपैयाँ रहेछ । त्यो नै मेरो जीवनको पहिलो कमाइ हो, गितार बजाएर कमाएको । 

साथीभाइहरुले पनि गितार गिफ्ट गर्छन् ? 
हो, गर्नुहुन्छ । केहीअघि मेरो बर्थडेमा पनि एउटा गितार नै गिफ्ट आएको थियो । 

तपाईं चाहिँ कसैलाई गितार गिफ्ट गर्नुहुन्न ? 
अहिलेसम्म दिएको छैन ।

गितारसँगै जोडिएको कुनै त्यस्तो घटना छ, जसले गर्दा तपाईंको मनमुटाव भएको होस् ?
छैन त्यस्तो त । 

गितारकै कारणले कहिल्यै रुनु भएको छ ?
छु । सानोमै पहिलो पटक बाबाले गितार नकिनिदिँदा रोएको थिएँ । 

निरन्तर कति लामो समय गितार बजाउनु भएको छ ?
बाह्र घण्टासम्म । म बजाउन थालेपछि सबै कुरा बिर्सिएर बजाउँछु । 

गितार के हो तपाईंका लागि ?
सबैथोक, जीवन । 

गितार बजाउनु के हो तपाईंका लागि ?
आफैलाई भुल्नु हो । म गितार बजाउदा सबै कुरा भुल्छु । आफैलाई पनि । 

याे पनि पढ्नुहाेस् :

जसले गितार बजाएरै काठमाडौंमा घर बनाए

  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार ११:४९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया