साउदी अरबको तेल कम्पनी अरामकोमा कसले गर्यो आक्रमण ?

एजेन्सी– साउदी अरबको तेल कम्पनी अरामकोका दुई ठूला तेल प्रशोधन स्थानमा ड्रोन आक्रमण भएको छ । 

साउदी सरकारी मिडियाहरुका अनुसार यो आक्रमणका कारण त्यहाँ भीषण आगलागी भएको छ । उनीहरुले प्रसारण गरेका विभिन्न मिडिया फुटेजहरुमा पनि त्यो आगो देखिन्छ । त्यहाँको आकाशमा कालो धुँवा फैलिएको छ । 

दोस्रो ड्रोन आक्रमण खुरैस तेल क्षेत्रमा भएको र त्यहाँ पनि आगो लागेको साउदी मिडियाहरुले लेखेका छन् । सरकारी मिडियाका अनुसार दुवै ठाउँमा लागेको आगो अब नियन्त्रणमा आइसकेको छ ।

त्यहाँ इरान समर्थित हुथी विद्रोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरेका छन् । तर, साउदी मिडियामा चाहिँ यो आक्रमण कसले गरेको हो भन्ने नखुलेको जनाइएको छ । 

उता, यमानमा इरानसँग जोडिएका हुथी समूहका एक प्रवक्ताले आक्रमणका लागि १० ड्रोन पठाइएको बताएका छन् । याह्या सारएले त्यहाँको अर मसिरह टिभीमा भविष्यमा यस्ता अन्य आक्रमण पनि हुनसक्ने बताएका छन् । उनले भनेका छन्, ‘यो आक्रमण हुथी समूहले त गरेको तर यसका लागि साउदी शासनका प्रतिष्ठित व्यक्तिहरुको पनि सहयोग मिलेको छ ।’

तर, साउदी अधिकारीहरुले यसबारे कुनै टिप्पणी गरेका छैनन् । साउदी प्रेस एजेन्सीका अनुसार ‘औद्योगिक सुरक्षा बलको टिमले स्थानीय समयअनुसार विहान चार बजे दुवै ठाउँमा लागेको आगो निभाउन सुरु गरेका थिए ।’



अरामकोले बकिकको तेल प्रशोधन केन्द्रमा प्रतिदिन ७० लाख ब्यारेल कच्चा तेल उत्पादन हुने गरेको र यो विश्वकै सबैभन्दा ठूलो प्रशोधन केन्द्र भएको जनाउँदै आएको छ । त्यहाँ सन् २००६ मा अलकायदाले आक्रमण गर्न खोजेको थियो । तर, त्यसलाई साउदी सुरक्षाबलले विफल पारिदिएको थियो ।

अर्को आक्रमण भएको क्षेत्र चाहिँ खुरैस प्लान्ट हो जहाँ प्रत्येक दिन १५ लाख ब्यारेल कच्चा तेलको उत्पादन गरिने अरामकोले बताउँदै आएको छ ।



साउदीका राजकुमार प्रिन्स मोहम्मद बिन सलमानले देशको अर्थतन्त्र तेलमा मात्र निर्भर नहोस् भन्नका लागि अरामकोको आइपिओ खोल्ने घोषणा यसअघि गरिसकेका थिए ।

गत वर्ष अरामकोले १११ अर्ब डलर कमाएको थियो । सन् २०१८ मा अरामको ले साउदी सरकारलाई १६० अर्ब डलर रकम दिएको थियो । 

  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार १६:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया