भारतसँग युद्ध हुनसक्छः इमरान खान

एजेन्सी– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अहिले दुई समस्याका कारण घेरिएका छन् । पहिलो त जम्मुकश्मिरमा भारतले गरेका निर्णयका कारण पाकिस्तान समस्यामा छ भने दोस्रो पाकिस्तानी भित्रै पनि इमरान खानको आलोचना बढेको छ । त्यसैले पनि उनीमाथि सबैले विशेष ध्यान दिएर हेर्न थालेका छन् । 

यी समस्याहरुबाट उनी कसरी बाहिर निस्कनेछन्, त्यो त भविष्यले नै बताउला । तर, सन्चारमाध्यम अल जजिरालाई दिएको अन्तर्वार्तामा इमरान खानले पाकिस्तान र भारतको युद्ध हुनसक्ने सम्भावना औंल्याएका छन् ।

उनलाई के दुई देशबीचको युद्धको सम्भावना बढेको हो भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्– हो, दुई देशबीच युद्ध हुने खतरा छ । 

इमरानले भारतसँग युद्ध सम्भव भएको र पाकिस्तान पछिल्लो समय चीनसँग निकै नजिकिएको बताएका छन् । 

‘कश्मिरमा ८० लाख मुस्लिम पछिल्ला ६ सातादेखि कैदमा जस्तो जीवन बिताइरहेका छन्,’ उनले भनेका छन्, ‘तर, भारतले पाकिस्तानमाथि आतंकवाद फैलाएको आरोप लगाएर सबैबाट यी कुरा छिपाउन खोजेको छ । पाकिस्तानले कहिल्यै युद्धको सुरुवात गर्दैन, म यसमा स्पष्ट छु । युद्ध कुनै पनि समस्याको समाधान होइन भन्नेमा म ढुक्क छु ।’

उनले त्यो अन्तर्वार्तामा थपेका छन्, ‘जब दुई परमाणु शक्ति सम्पन्न देश लड्छन्, यसको नतिजा सोच्न सकिँदैन । त्यसैले हामीले राष्ट्रसंघलाई यस विषयमा जानकारी दिएका छौँ । यदि युद्ध भयो भने यो भारतीय उपमहाद्विपमा मात्र सीमित हुँदैन । यो विश्वभर फैलिनेछ ।’



उनले आफूले यस्तो समस्याको राजनीतिक समाधान खोजेको तर भारतले संवादलाई तर्काउँदै आएको बताएका छन् । 

प्रधानमन्त्री खानले आफ्नो विषयमा भएका टिकाटिप्पणीबारे पनि अन्तर्वार्तामा भनेका छन् । उनले भनेका छन्, ‘मलाई उनीहरुले यु टर्न लिएको प्रधानमन्त्री भनेका छन् । यो कुरामा म खुसी छु, केवल मुर्ख मानिसहरुले मात्र यु टर्न लिँदैनन् । एक बुद्धिमान मानिसले त आफ्नो रणनीति तत्काल सुधार गरिहाल्छ ।’ 



  • प्रकाशित मिति : भदौ २८, २०७६ शनिबार २२:५५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया