दुई लाखभन्दा बढीको कारोबारमा चेक काट्नु नपर्ने प्रावधान आइतबारदेखि लागू

काठमाडौं– तपाईंले चेकमार्फत कारोबार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले दुई लाखभन्दा बढीको कारोबारमा चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ । 

बैंकका अनुसार दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो । यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो । यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । 

आफ्नो खाता भएको बैंकमा गएर कसलाई भुक्तानी दिनुपर्ने हो, त्यसको सूचना दिएपछि बैंकका कर्मचारीले चेक नकाटी भुक्तानी दिनेछन् । त्यसअघि सामान्य एउटा फर्म भरे मात्रै हुनेछ । यस्तै खाता भए/नभएको, खातामा पैसा भए/नभएको तथा खातावाल व्यक्तिको आवश्यक विवरण रुजुपछि बैंकले तत्काल नै अर्को व्यक्तिको खातामा पैसा पठाइदिनेछ । यसबाट समयको बचत हुनेछ । यस्तो प्रणाली तत्कालका लागि भने ऐच्छिक मात्रै हुनेछ । सबै ग्राहक अभ्यस्त भइसकेपछि पूर्णरुपमा लागू गर्ने केन्द्रीय बैंकको भनाइ छ । 

यस प्रणाली लागू भएपछि चेक क्लियरिङमा कुनै समय लाग्दैन । सामान्यतया चेक क्लियरिङमा २४ घण्टा समय लाग्दै आएको छ । यस्तो व्यवस्था तत्कालका लागि भने दुई लाखमाथिको कारोबारमा मात्रै लागू हुनेछ । त्यसभन्दा तलको परिमाणको रकममा भने चेक आवश्यक पर्नेछ । 

आरटिजिएस प्रणालीमा सबै उपभोक्ता अभ्यस्त भइसकेपछि भने जुनुसुकै परिमाणको रकममा समेत चेक काट्नु नपर्ने अवस्थाको अन्त्य हुनेछ । यो प्रणालीले तत्कालको तत्काल नै रकम जम्मा हुनेछ । 

सो प्रणालीको सुरुआत गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले आरटिजिएस प्रणाली प्रविधिको क्षेत्रमा नयाँ र प्रभावकारी प्रणाली भएको बताए । उनले भने, ‘यो अन्तर्राष्ट्रिय प्रकारको प्रणाली हो । यसले पारदर्शी कारोवार प्रणालीलाई थप व्यवस्थित गर्छ । हामी बैंक तथा वित्तीय संस्थालाई थप व्यावसायिक र पारदर्शी बनाउन लागिपरेका छौँ ।’



राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यही भदौ २२ गते नै आरटिजिएस प्रणाली लागू गर्न २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग सम्झौता गरिसकेको छ । राष्ट्र बैंकले यही भदौ १९ गते आरटिजिएस नियमावली ल्याएको थियो । सोही नियमावलीअनुसार नै भदौ २० गते निर्देशन दिँदै २४ गतेभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ । उनका अनुसार जुन बैंकको चेक हो, त्यही बैंकको अर्को खातामा साट्दा मात्रै उसै दिन साटिने गरेको छ । 



एउटा बैंकको चेक अर्कोमा साट्दा पैसा जम्मा हुन कम्तीमा पनि एक दिन लाग्ने बाध्यता आरटिजिएस प्रणालीले अन्त्य गरिदिनेछ । कार्यकारी निर्देशक मिश्रले भुक्तानी गर्ने खातावालले मेरो खाता यो बैंकका छ, खाता नम्बर यति हो र भुक्तानी गरिदिनु भनेपछि तत्कालै भुक्तानी हुने बताए ।

सामान्यतया एउटा चेक छाप्न ८० पैसासम्म खर्च लाग्ने गरेको छ । बैंकका हजारौँ ग्राहकलाई अनिवार्य रुपमा नै चेक दिनुपर्ने हुन्छ । त्यस आधारमा चेकका लागि नै ठूलो रकम खर्च हुने गरेको छ । 

  • प्रकाशित मिति : भदौ २९, २०७६ आइतबार १५:१२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया