काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्न सुझाब दिएका छन् । प्रहरीले कांग्रेसका नेतामाथिको सुरक्षमा बेवास्ता गरेको भन्दै उनले यस्तो व्यंग्य प्रहार गरेका हुन् ।
कांग्रेसको दोस्रो चरणको जनजागरणका क्रममा गत बिहीबार बाँकेको खजुरामा सत्तारुढ दलका कार्यकर्ताले कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा नदिएको भन्दै उनले सो घटना लोकतन्त्रमाथिकै हमला भएको बताए ।
गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाबारे आइतबार सदनलाई जानकारी गराएपछि सोबारे पुरक प्रश्न गर्दै सिंहले सत्तापक्षले पार्टीको संरक्षण र संवर्द्धनका लागि राज्यको गृहप्रशासन दुरुपयोग गरिएको आरोप लगाए ।
प्रहरीले घटनास्थलको सुरक्षा दिन नसकेको भन्दै उनले भने, ‘नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्दा अन्यथा नहोला,’ उनको थप आरोप थियो, ‘माथिकै निर्देशनमा घटना घटेको देखिन्छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।