दार्चुला– सदरमुकाम खलंगाबाट दुई दिन लगाएर पुगिने पाथामा फलेको स्याउ बिक्री गर्न बजार अभाव छ । नजिकको बजार खण्डेश्वरी हो । अहिले गाउँपालिका केन्द्र रहेको खण्डेश्वरी बजारमा झण्डै दुई दर्जनभन्दा बढी पसल सञ्चालनमा छ ।
अपी हिमालसम्म सडक सञ्जाल पुगेको छैन । अस्थायी रुपमा गाउँपालिका–५ ओखल रेलासम्म सडक गुड्ने गरे पनि त्यहाँबाट आठदेखि १० घण्टा पैदल हिँडेपछि पाथा पुगिन्छ । गाउँबाट गाडीसम्म स्याउ ल्याउनका लागि प्रतिकिलो रु ४० भाडा पर्छ । सडक सञ्जाल नपुगेका कारण यहाँ उत्पादन भएको स्याउले बजार नपाएको स्थानीयकाे गुनासाे छ ।
सडक नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाएको छैन । अपी हिमाल गाउँपालिका–३ र ४ मा अहिले स्याउ उत्पादन भएको छ । यही क्षेत्रमा गत वर्षदेखि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत समेत स्याउ खेती गरिएको छ । अहिले यस क्षेत्रमा उत्पादन हुने स्याउको बजार व्यवस्थापन समस्या भएको छ ।
स्याउ जोन बनाएर स्याउ खेतीतर्फ आकर्षण गराए पनि स्याउ बिक्री गर्ने भण्डार गर्ने तथा स्याउका परिकार बनाउने तालिम र उपकरण नहुँदा स्याउ उत्पादक कृषक समस्यामा परेका छन् ।
अपी हिमालमा उत्पादन भएको अर्गानिक स्याउ अहिले खण्डेश्वरी बजारमै प्रतिकिलो रु १५० मा बिक्री हुन्छ । सबै स्याउ त्यहीँ बिक्री हुने अवस्था छैन ।
विसं २०६७ देखि स्याउ खेती सुरु गरेका किसानलाई स्याउ गाउँमा जोगाउ नै मुस्किल भएको छ । उत्पादन भएको स्याउसमेत असिना र जंगली जनावरले सखाप पार्दा स्थानीय निराश छन् ।
गत वर्षदेखि दार्चुलामा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम लागू भएको हो । गत वर्ष कार्यक्रमअन्तर्गत यहाँका अपी हिमाल, नौगाड, मार्मा, दुहुँ र व्यास गाउँपालिकामा स्याउ खेती गरिएको हो ।
गत वर्ष पाँच वटा स्थानीय तहका १६ वटा कृषक समूह र चार जना उद्यमीलाई जुम्लाबाट ल्याइएका १४ हजार २०० र इटालीबाट ल्याइएका गोल्डेन डेलिसियस जातका ७०० स्याउका बोट वितरण गरिएको स्याउ जोन एकाइ दार्चुलाका निमित्त प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिए । गत वर्षको कार्यक्रममार्फत जिल्लाका ४४० कृषक लाभान्वित भएको कार्यालयले जनाएको छ ।
चालू आवमा नौ वटै स्थानीय तहमा स्याउ र ओखर खेती विस्तारका लागि कुल एक करोड ५१ लाख ४० हजार खर्च गरिने कार्यालयले जनाएको छ । ‘स्याउका लागि बजार व्यवस्थापन चुनौती देखिएको छ’, कार्यालय प्रमुख ओझाले भने, ‘स्याउ प्याकेजिङ र परिकार निर्माणमा जोड दिनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।