केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदी

काठमाडौं– मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । 

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १ सय २९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७ सय ४२ पुरुष, ३ सय ७८ महिला र नौ नाबालक रहेका छन् ।
 
केन्द्रीय कारागार विभागका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद सापकोटा एक हजार ५ सय क्षमता भएको कारागारमा दोब्बरभन्दा धेरै संख्यामा कैदीबन्दी हुँदा समस्या भएको बताउँछन् । 

‘राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको संख्या बढी भएको हो,’ उनी बताउँछन् ।

केन्द्रीय कारागार परिसरभित्र हाल तीनवटा जेल रहेका छन् । जसमध्ये केन्द्र जेलमा एक हजार ९ सय १०, भद्र जेलमा ८ सय ३२ र महिला जेलमा ३ सय ७८ कैदीबन्दी रहेका छन् । 

कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न किसिमका रोगसमेत लाग्ने गरेको छ । केन्द्रीय कारागार तथा देशका अन्य कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि जगन्नाथदेवलमा केन्द्रीय कारागार अस्पतालसमेत सञ्चालन भएको छ । उक्त अस्पताल हाल ३० सय्याको रहेको छ । 
 
कारागारभित्र रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै अर्थात् ४ सय ७९ जना लागुऔषध कारोबारका रहेका छन् । यस्तै ३ सय ५७ जबर्जस्ती करणी, १ सय ३५ चोरी, ९९ डाँका, ७८ सार्वजनिक अपराध, ७४ ठगी, ४४ ज्यान मार्ने उद्योग, ५२ वन र २८ अपहरण मुद्दामा जेल परेका छन् । 

पछिल्लो समय नेपाल सरकारले कारागारको सुरक्षाका लागि सिसी क्यामरा जडान र विद्युतीय हाजिर जडान गरेको छ । सिसी क्यामरा र विद्युतीय हाजिरको जडानसँगै कारागारभित्रको सुरक्षामा सहज हुने जेलर सापकोटा बताउँछन् । 



विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौं र दाङमा दुई÷दुई कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन । 

हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्र सञ्चालनमा रहेका छन् ।



विभागका अनुसार हाल देशभर २२ हजार ६ सय ७६ कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार ४ सय ६६ रहेको छ ।

  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १५:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया