काठमाडौं–निजगढ फास्ट ट्र्याकमा बन्ने पुल र सुरुङ निर्माणको ठेक्का सेनाले विदेशी कम्पनीलाई मात्र दिने

काठमाडौं– निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्र्याकमा बन्ने पुल र सुरुङ निर्माणको ठेक्का विदेशी कम्पनीले मात्र पाउने भएका छन् । यस्ता पुल र सुरुङ ‘डिजाइन एन्ड बिल्ट’ मोडलमा बनाइने भएको छ ।

‘डिजाइन एन्ड बिल्ट’ मोडलअनुसार काम गर्दा आधारभूत नक्सांकनका आधारमा ठेकेदार कम्पनीले नै डिजाइन गर्नुपर्ने नेपाली सेनाले जनाएको छ । फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको सेनाले स्वीकृत गरेपछि मात्रै ठेकेदार कम्पनीले काम सुरु गर्न सक्नेछ ।

पुल र सुरुङ बनाउने ठेक्का विदेशी कम्पनीलाई मात्र दिइने गरी सेनाले काम अघि बढाएको छ । पुल बनाउन ६ वटा कम्पनी सूचीकृत भइसकेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् । जसअनुसार पाँचवटा चिनियाँ र एउटा टर्किस कम्पनी सूचीकृत भएका छन् ।

तीन महिनाभित्रमा सुरुङमार्गका लागि पनि कम्पनी छनोट गरिसक्ने सेनाको योजना छ । त्यसका लागि कम्पनीहरु सूचीकृत गर्ने प्रक्रिया चलिरहेको प्रवक्ता पाण्डेले बताए । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार फास्ट ट्र्याकमा ८७ वटा पुल र तीनवटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ ।

त्यस्ता सुरुङ महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो बनाइनेछ । यसअघि भदौ पहिलो साता मन्त्रिपरिषद्ले ती सुरुङको डिपिआर स्वीकृत गरेको थियो ।

यो आयोजना लागत १ खर्ब ७५ अर्ब अनुमान गरिएको छ । फास्ट ट्र्याकको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ ।
 





  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १६:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया