बुद्ध एअरको स्पष्टीकरण : पर्यटनमन्त्रीमाथिको हुल–हुज्जतका कारण जहाज एकातिर ढल्केको थियो

काठमाडौं– बुद्ध एअरले गत शनिबार नेपालगन्जबाट पर्यटनमन्त्री योगेश भट्टराईसहितका यात्रु लिएर काठमाडौं आउँदै गरेको आफ्नो जहाजभित्र भएको घटनाबारे सरकारलाई स्पष्टीकरण दिएको छ ।

बुद्ध एयरले उक्त दिन जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेको स्विकार गर्दै नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक लेखेको पत्रमा सो दिन हुल–हुज्जतका कारण जहाज एकातिर ढल्केको उल्लेख गरेको छ ।

यस्तो छ बुद्ध एयरको पत्र

मिति २०७६ भाद्र २८ गते शनिबारको उडान माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई समेत रहनुभएको थियो, सो उडान घटनाको घटनाक्रम तपसिलमा उल्लेख गरिएबमोजिम पाइएको छ ।


१. काठमाडौंबाट नेपालगन्जका लागि विमान १६ः५० बजे उड्नुपर्नेमा काठमाडौंबाट नै २३ मिनेट ढिला भई १७ः१३ मा उडेको थियो र विमान नेपालगन्जमा १८ः०२ मा अवतरण गरेको थियो ।

२. काठमाडौंको बुद्ध एयर फ्लाइट अप्रेसनले नेपालगन्जलाई दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट विमान १८ः२५ को सट्टा १८ः४० मा उड्नुपर्ने थियो ।



३. बुद्ध एयरसँगै जस्तो यती एयरलाइन्सको विमान १७ः५३ मा अवतरण गरेर १८ः२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८ः३० मा अवतरण गरेर १८ः५१ मा उडेपछि हाम्रा यात्रुहरू विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए । सोही समयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूका सहयोगीले १८ः२५ तिर नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत फोन गरेर हामी धम्बोजी आइपुग्यौँ भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यू आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरूलाई १८ः३० तिर विमानमा बोर्डिङ गर्नुभएको थियो, तर त्यसो नभई उहाँहरूले फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो ।

४. माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरूकै अगाडि १४–१५ जना यात्रुहरूको समूह हाम्रा विमान परिचारिकाहरूले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोशित भई विमानबाट १८ः४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरूसँग वादविवाद गर्न थाल्नुभएको थियो, सो विवाद ६–८ मिनेट जति चलेको थियो ।



५. मन्त्रीज्यु १८ः५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह उहाँतिरै फर्केर तपाईं किन ढिला आउनुभएको, तपाईंले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनी अझ आक्रोशि हुन थालेपछि मन्त्रीज्यू चुपचाप विमानभित्र चढ्नुभयो र सो समूह मन्त्रीज्यूसँगसँगै विमान भित्र एकैचोटि चढेर एकैठाँउमा उभिएर ४–५ मिनेटसम्म अझ बढी आक्रोश पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समूहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको थियो ।

 ६. नेपालगन्जलाइ दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट २४ मिनेट ढिला भई १९ः०४ मा विमान उडेको थियो ।

 ७. उल्लेखित घटनामा माननीय मन्त्रीज्यूका सुरक्षाकर्मी र सहयोगीहरूले देखाएको संयमताका कारण पनि आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो ।

  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १८:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया