अमेरिकाले फेरि भन्यो– साउदी अरबको तेल कम्पनीमा इरानले नै हमला गरेको हो

एजेन्सी– अमेरिकाले स्याटलाइट तस्वीरहरु सार्वजनिक गर्दै साउदी अरबको प्रमुख तेल कम्पनी अरामकोका दुई प्रशोधन केन्द्रमा आक्रमण हुनुको पछाडि इरानकै हात रहेको फेरि दाबी गरेको छ ।

स्याटलाइट तस्वीरमात्र होइन, यो जानकारीका लागि अमेरिकासँग जासूसी सूचना भएको पनि उसको दाबी छ ।

शनिबार साउदी अरबको तेल कम्पनीको प्रशोधन केन्द्रमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको इरानले यसअघि पनि बताउँदै आएको छ । यो आक्रमणको जिम्मेवारी चाहिँ यमनको इरान समर्थित समूह हुथी विद्रोहीले लिइसकेको छ ।

यो आक्रमणपछि विश्वभर तेल आपूर्तिमा पाँच प्रतिशत कमी आएको छ । पेट्रोलियम पदार्थको मूल्य अब निकै बढ्न सक्ने अनुमान पनि गरिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले गत साता नै यो आक्रमणमा इरान जिम्मेवार भएको आरोप लगाएका थिए । 

त्यसपछि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्विट गरेर भने– यो आक्रमणमा संलग्नमाथि सैन्य कारवाही सुरु गर्ने चेतावनी दिएका थिए । 



अमेरिकी अधिकारीहरुले यस विषयमा नाम नखुलाउने सर्तमा न्युयोर्क टाइम्स, एबिसी तथा रोयटर्सका साथ यसका सूचना दिइरहेका छन् । एक अधिकारीले यो आक्रमण पश्चिम–उत्तर दिशाबाट भएको बताएका छन् । हुथी विद्रोहीले जिम्मेवारी लिए पनि उनीहरु दक्षिण पश्चिममा भएकाले यसमा इरानकै हात रहेको अमेरिकी दाबी दोहोरिएको हो ।

अहिले कच्चा तेलको मूल्य बढेर ६६.२८ डलर पुगेको छ । यो एकै दिनमा १० प्रतिशत वृद्धि हो । यसअघि सन् १९९१ मा भएको खाडी युद्धमा मात्र एकै पटकमा यति धेरै तेलको मूल्य बढेको थियो ।



अमेरिकाको यो ताजा आरोपबारे अहिलेसम्म इरानले कुनै प्रतिक्रिया दिएको छैन । तर, इरानका विदेशमन्त्री जव्वाद जरिफले आइतबार ट्विटमा नै अमेरिकी विदेशमन्त्रीमाथि आरोप लगाएका थिए ।

त्यसो त ट्रम्प प्रशासनले यसअघि घोषित नीति नै लिएको थियो कि इरानमाथि अधिकतम दबाबको अवस्था सिर्जना गर्ने । अमेरिकाको यो नीति इरानको परमाणु कार्यक्रममा अन्तर्राष्ट्रिय सम्झौताबाट अलग भएपछि अपनाएको थियो ।

  • प्रकाशित मिति : भदौ ३०, २०७६ साेमबार १९:०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया