दक्षिण कोरियाली नेताहरु किन खौरिरहेछन् कपाल ?

एजेन्सी— दक्षिण कोरियामा प्रतिपक्षी नेताले सार्वजनिक स्थानमा बसेर आफ्नो टाउको मुडुलो बनाएका छन् । त्यसैले पनि उनी पछिल्लो समय त्यहाँका मिडियाको आकर्षणको केन्द्र बनेका छन् ।

ह्वाङ क्वो आनले आफ्नो टाउको पूरै मुडुलो बनाउनुको कारण हो— सरकारको विरोध । उनले राष्ट्रपति निवासअगाडि नै पत्रकारहरु बोलाएर आफ्ना समर्थकको साथमा कपाल खौरिएका हुन् । 

विपक्षी नेताको यो कदम त्यहाँका नयाँ कानुनमन्त्री चो कुकविरुद्ध हो जसको परिवारमाथि विभिन्न भ्रष्टाचारका मुद्दा लागेका छन् । 

ह्वाङमात्र होइन, गत साता त्यहाँका दुई महिला नेताले पनि यही विषयमा विरोध गर्न कपाल खौरिएका थिए । यी तिनैजना अहिलेको सरकारका विपक्षी हुन् । 

उनीहरु चोको राजीनामा मागिरहेका छन् । चोले राजीनामा नदिए उनलाई बर्खास्त गर्नु पर्ने उनीहरुको बटमलाइन रहेको छ ।

चो कुक कोरियाली राष्ट्रपति मुनका सहयोगी थिए । उनी गत सातामात्र त्यहाँको कानुनमन्त्रीमा नियुक्त भएका थिए । तर, उनका आलोचकहरुले यसको विरोध गरेका छन् । उनको परिवारमाथि एकेडेमिक जालझेल र आर्थिक अपराध गरिरहेको मुद्दा लागेकाले उनको नियुक्तीको विरोध हुन थालेको हो । 



चोकी श्रीमती, जो आफैं पनि प्रोफेसर हुन्, ले छोरीलाई विश्वविद्यालयमा पढाउन र छात्रावृत्ति दिलाउन भ्रष्टाचार गरेको आरोप त्यहाँ लागेको छ । चोले चाहिँ यी आरोपको खण्डन मात्रै गरेका छैनन्, अब आफू कानुनमन्त्री भएकाले न्यायका लागि लड्ने पनि बताएका छन् । 

उता, मुनले पनि चोको समर्थन गर्दै यी आरोपहरु सत्य नभएको बताएका छन् । तर, त्यहाँ यस विषयमा ठूलो बहस सुरु भएको छ ।



दक्षिण कोरियामा यसअघि पनि राष्ट्रपति पार्क गुएन हाइमाथि भ्रष्टाचारको आरोप लागेको थियो । उनी यो आरोपमा अहिले जेल सजाय कटाइरहेकी छिन् ।

ह्वाङले चाहिँ पार्क गुएन हाइको समयमा प्रधानमन्त्रीका रुपमा काम गरेका थिए । त्यसैले अहिले केही व्यक्तिहरु चाहिँ उनले कपाल खौरनुलाई राजनीतिक स्टन्टको वाहना बनाएको बताइरहेका छन् ।

त्यसो त दक्षिण कोरियामा विरोध जनाउन कपाल खौरिइएको यो पहिलो पटक होइन । यसअघि पनि त्यहाँ विरोधहरु ज्नाउन बारम्बार कपाल खौरिने गरिएको थियो ।

यो त बरु कन्फुसियसको शिक्षाका रुपमा त्यहाँ लिइन्छ । सन् १९६० र १९७० को दशकमा दक्षिण कोरिया सैन्य नेतृत्वमा थियो जतिबेला विरोधस्वरुप धेरैले कपाल खौरिएका थिए । त्यति बेला देखि नै कपाल खौरिएर विरोध गर्ने एउटा संस्कारका रुपमा त्यहाँ विकास भएको छ । 

सन् २०१८ मा त्यहाँ महिलाहरुले शौचालय तथा चेन्जिङ रुममा राखिएका क्यामेराको विरोध गर्न कपाल खौरिएका थिए । २ वर्षअघि ९ सयभन्दा धेरै दक्षिण कोरियालीले अमेरिकाको विरोध गर्दै कपाल खौरिएका थिए । त्यस्तै, सन् २००७ मा पनि त्यहाँ सयौँ नागरिकले कपाल खौरिएका थिए । 

दक्षिण कोरियाली राष्ट्रपति निवास द ब्लु हाउसअगाडि ह्वाङले कपाल खौरिएपछि ह्वाङले भनेका छन्, ‘म यहाँ आएर कपाल खौरिनुको कारण हो, म अब पछाडि हट्ने छैन ।’ उनको यो कदमले त्यहाँका सामाजिक सन्जालमा पनि निकै चर्चा कमाएको छ । दक्षिण कोरियाको सर्च इन्जिन नावरमा त उनी टप १० मा लामो समयदेखि रहिरहेका छन् ।

  • प्रकाशित मिति : भदौ ३१, २०७६ मंगलबार २३:२८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया