काठमाडौं— असोजको पहिलो साता पनि मनसुन झरी रोकिने छाँटकाँट देखिँदैन । ढिलो सुरु भएको यो मनसुने झरीले पछिल्लो समय काठमाडौंको तापक्रम निकै घटाएको छ ।
तर, काठमाडौंमात्र होइन, नेपालभरका ५० भन्दा बढी जिल्ला अर्कै आतंकबाट अहिले ग्रसित छन् । त्यो हो– डेंगी ।
सरकारी तथ्याङ्कअनुसार डेंगीका कारण अहिलेसम्म विभिन्न जिल्लामा चार जनाको मृत्यु भएको छ । डेंगी सयौँमा संक्रमित भएको अनुमान गरिएको छ ।
यो अनुमान किन पनि सही हो भने काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दिनहुँ २३ सयभन्दा धेरै मानिस आफूलाई डेंगी लागेको हो कि होइन भन्ने पत्तो लगाउन पुगिरहेका हुन्छन् ।
मंगलबार विहानैदेखि काठमाडौंमा झरी परेको थियो । तर, टेकु अस्पतालको परिसरमा पुग्दा मानिसहरु जचाउँन छाता ओडेर आइरहेका थिए ।
त्यसरी जचाउँनकै लागि आउनेमध्ये एक हुन्, वीरगन्ज सिमराकी गीता देवी महरा, ३१ । गीता केही दिनअघि बिरामी परिन् ।
उनलाई चर्को ज्वरो आयो, खान मन लाग्न छाड्यो, टाउको निकै दुख्न थाल्यो, शरीर पनि दुख्यो । ‘१२ दिनअघि नै यस्तो भयो,’ टेकु अस्पताल परिसरमा भेटिएकी गीताले भनिन्, ‘सबै लक्षण ठ्याक्कै डेंगीसँग मेल खाने भए ।’
गीताले वीरगन्जमा नै एउटा अस्पतालमा जाँच गराइन् । रगतको रिपोर्ट त उनको फेभरमा आएको थियो, तर उनको मन शान्त भएन । ‘डेंगीको रिपोर्टमा नेगेटिभ आएको थियो,’ गीताले भनिन्, ‘त्यहाँ ठिक नभएपछि चार दिनअघि काठमाडौं आएर वीर अस्पतालमा गएकी हुँ ।’
वीर अस्पतालले उनलाई टेकु अस्पताल रिफर गरिदियो ।
गीताजस्तै आत्तिएर टेकु अस्पताल आउनेको भीड निकै बढिरहेको छ । तिनैमध्ये एक हुन्, विपशा केसी । विपाशा १० वर्षकी मात्र भइन् । उनलाई पाटन अस्पतालमा भर्ना गरेर डाक्टरसँग सल्लाह गर्न टेकु अस्पताल आइपुगेकी थिइन्, उनकी आमा लक्ष्मी थापा ।
‘छोरीलाई पाटन अस्पतालमा भर्ना गरेको अझै ज्वरो कम भएन,’ लक्ष्मीले छोरीबारे भनिन्, ‘२२ भदौदेखि आएको ज्वरो घटेकै छैन, त्यही भएर यहाँ आएको ।’
गीता र लक्ष्मी दुवैजनाले मंगलबार अस्पतालमा भेटे, डा. अनुप बास्तोला ।
डा. अनुप बास्तोला आजभोलि दिनभर टेकु अस्पतालमा बिरामीहरुलाई डेंगीबारे सम्झाइरहेका हुन्छन् । मंगलबार उनको क्याबिनमा एकैपटकमा तीन चार जना छिरिरहेका थिए । सबै बिरामी डेंगीका कारण डराएर त्यहाँ आइपुगेका थिए ।
‘डेंगी त्यस्तो खतरानक रोग होइन, डराउनु पर्दैन,’ डा. बास्तोला भनिरहेका थिए, ‘यो लामखुट्टेले टोक्दा आउने ज्वरो हो, पर्याप्त आराम गर्ने हो भने आफैं एक सातामा ठिक हुन्छ ।’
डा. बास्तोलाले प्रायः सबै बिरामीलाई यही भन्छन् । तर, उनको यो कुरा पत्याउन कोही पनि तयार छैनन् ।
‘रोग लागिसकेपछि सरकारका अस्पतालहरु यस्तै भन्छन्,’ वीरगन्जकी गीताले भनिन्, ‘सरकारले केही व्यवस्थापन राम्रोसँग गरेको छैन, सरसफाईमा खर्च गर्ने हो भने यस्तो रोग नै लाग्दैनथ्यो ।’ आफू बिरामी भएर अस्पतालसम्म आइपुग्नु परेकाले यो आक्रोश गीताको मात्र होइन, अन्य बिरामी पनि डेंगी नियन्त्रण गर्न सरकार चुकिरहेको आरोप लगाइरहेका छन् ।
त्यसो त पछिल्लो समय सामाजिक सन्जालमा पनि डेंगी नियन्त्रणलाई लिएर सरकारको आलोचना भइरहेको छ । संसदमा प्रतिपक्षी दलका सांसद्हरुले त यही विषयलाई लिएर स्वास्थ्यमन्त्री उपेन्द्र यादवको राजीनामासमेत माग गरिसकेका छन् ।
फेरि, केही समयअघि स्वास्थ्यमन्त्री यादवले स्वयं भनेका थिए, ‘यो डेंगी हाम्रो नियन्त्रणबाहिर गइसक्यो, अब सेना परिचालन गरेर भए पनि यसलाई नियन्त्रणमा लिनु पर्ने भयो ।’
केही समययता पत्रपत्रिका तथा मिडियामा ठूला हेडलाइन पनि बनेका छन्, डेंगीबारे ।
तर, के डेंगी साँच्चिकै यसरी भनिएजस्तो ‘खतरानक’ संक्रमण वा रोग हो त ?
‘होइन,’ डा. बास्तोलाले भने, ‘अहिले यसबारे निकै ठूलो त्रास फैलिएको छ । खासमा अहिले फैलिएको यो रोग डरलाग्दो हो भन्ने चाहिँ होइन । डेंगी लागेकै भए पनि एउटा बिरामी धेरैमा १२ दिनमा ठीक हुन्छ ।’
तर, यसको अर्थ के होइन भने डेंगी लाग्दा एउटा बिरामीले पूरै बेवास्ता गर्नुपर्छ ।
‘फेरि डेंगी संक्रमण भइसकेपछि शरीर निकै दुख्छ, मांसपेशीमात्र होइन कि भित्र हड्डी नै दुखेको जस्तो अनुभव हुन्छ,’ डा. बास्तोलाले भने, ‘त्यसैले पनि कतिपय बिरामी निकै आत्तिने गर्छन् । नआत्तिने र चिकित्सकसँग सल्लाह गरेर मात्र औषधि खाने हो भने यसले त्यस्तो ठूलो हानी गर्दैन ।’
अझ गर्भवती महिला, मोटोपना भएका व्यक्तिहरु र वृद्धवृद्धा तथा मधुमेह भएका व्यक्तिहरुले चाहिँ जतिसक्दो छिटो अस्पताल जाने प्रयास गर्नुपर्ने सुझाव दिन्छन्, डा. बास्तोला । यस्ता व्यक्तिहरुले चाहिँ सामान्य ज्वरो देखिएमा पनि विशेष ध्यान दिनु पर्ने उनको तर्क छ ।
मंगलबार दिउँसो क्याबिनमा डा. बास्तोलासँग फलो अपका लागि आएका बिरामी पनि निकै थिए । सबैलाई मुसुक्क हाँस्दै डा. बास्तोला सोध्थे, ‘अहिले कस्तो छ ?’
अनि अलिक कम भएका बिरामीलाई होस् या सुरुमा ब्लड रिपोर्ट नेगेटिभ लिएर आएका बिरामीलाई नै किन नहोस्, डा. बास्तोलाको एउटै सल्लाह थियो– दिनमा ३–४ पटक यो सिटामोल खानु ।
अनि उनी थप्थे, ‘झोलिलो पदार्थ अलिक बढी खानु, पानी धेरै पिउनु र आराम गर्नु ।’ डा. बास्तोलाले यति भनिसकेपछि एकजना बिरामीले उनलाई भने, ‘डा. साब शरीर निकै दुख्छ, के गर्ने ?’
मुसुक्क हाँसे डा. बास्तोला । अनि भने– त्यसरी शरीर दुख्यो भनेर आइबुप्रोफेन, एस्पिरिनजस्ता पेनकिलर चाहिँ खानु हुँदैन ।
चिकित्सकसँग सल्लाह नगरी अथवा रगत चेक नगरी यस्ता पेनकिलर खाएमा आन्तरिक रक्तस्राव हुने र त्यसले बिरामीको मृत्युसमेत हुनसक्ने सम्भावन हुन्छ ।
डा. बास्तोला जब बिरामीलाई सम्झाइरहेका थिए, बिरामीहरुलाई चाहिँ कति कुरामा चित्त नबुझेको जस्तो गरिरहेका थिए । यही सन्दर्भलाई जोडेर डा. बास्तोलाले भने, ‘अहिले यो सन्दर्भमा तीनवटा डिको मौसम छ ।’
अहिले डा. बास्तोला हाँसेको प्रष्ट सुनियो । उनले फेरि भने, तीनवटा डी अर्थात्, डेंगी, दशा र दशैं ।
यी तीन डीबारे सम्झाउन थाले, डा. बास्तालाले ।
पहिलो त डेंगी भइहाल्यो, सबैलाई अहिले सबैभन्दा बढी केहीबारे थाहा छ भने यही रोगबारे थाहा छ ।
दोस्रो डी अर्थात् दशा । ‘दशा ती बिरामीहरुलाई लागिरहेको छ,’ डा. बास्तोलाले भने, ‘खासमा रगत परीक्षण देखि औषधि खाँदासम्म डेंगीकै कारण चाहिँ पाँच सय पनि खर्च हुँदैन । तर, केही बिरामीहरु प्राइभेट क्लिनिक पुगिरहेका छन् । र, उनीहरुलाई दशा लागेको जस्तो महसुस भएको छ ।’ डा. बास्तोलाले यस्तो किन अनुभव गरे भने केही बिरामीहरुले अस्पतालमा भर्ना भएर हजारौँ खर्च गरेका पनि छन् ।
त्यसो त नेपालका चिनिएका अनुहार कृषिमन्त्री चक्रपाणी खनाल, आँखाका वरिष्ठ रोग विशेषज्ञ डा. सन्दुक रुइत, नेपाल कम्युनिष्ट पार्टीका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलगायतलाई पनि डेंगी भएको समाचार बाहिर आयो । उनीहरु ‘राम्रा’ अस्पतालमा भर्ना भए ।
त्यसपछि अर्को डी अर्थात् दशैंबारे भन्न थाले डा. बास्तोलाले । ‘जो डेंगीको यो प्रकोपमा नराम्रो काम गरेर वा बिरामीलाई बढी भार बोकाएर कमाउन खोजिरहेका छन्, उनीहरुलाई त अहिले दशैं नै आएको छ नि,’ उनले भने, ‘तर, यो गलत हो । यसलाई यस्तो ठूलो समस्या बनाउनु हुँदैनथ्यो ।’
‘खासमा डेंगी लाग्दा अस्पतालमा भर्ना हुनैपर्छ भन्ने पनि छैन,’ डा. बास्तोलाले भने, ‘तर, डेंगी लाग्दा प्रहरीले कुटेजस्तो हड्डीसमेत दुख्छ, त्यसैले त यसलाई ब्रेक बोन फिभर पनि भन्छन् । अनि श्वासप्रश्वासमा नै समस्या आयो भने चाहिँ अस्पतालमा भर्ना पनि हुनुपर्छ ।’
संयोग, डेंगी बिरामीलाई सम्झाइरहेका डा. बास्तोलालाई पनि केही दिनअघि डेंगी देखियो । ‘मैले पनि अहिले बिरामीहरुलाई जे भनिरहेको छु,’ उनले भने, ‘त्यही गरेको हुँ; सिटामोल खाएँ, झोलिलो खानेकुराहरुमा जोड दिएँ, आराम गरेँ । मलाई त ठीक भइसक्यो ।’
आफैं डेंगी भएर उत्रिएका डा. बास्तोलाले थपे– डेंगी ठूलो समस्या होइन, यसबारे भ्रम फैलाएर कोही आत्तिनु भएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।