प्रधानमन्त्रीले गरे नयाँ संसद् भवनको शिलान्यास, अढाइ वर्षमा तयार हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबारभित्रको पुतली बगैँचामा बन्न लागेकाे नयाँ संघीय संसद् भवनकाे आइतबार प्रधानमन्त्रीले शिलान्यास गरे । 

शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुने उक्त भवन निर्माणको लागत ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान सहरी विकास मन्त्रालयको छ ।

निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले भने ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ । मन्त्रालयका अनुसार निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने अनुमान छ ।

तोकिएकै समयमा संसद भवन निर्माण भए वर्तमान संसद्को आधा कार्यकाल र आगामी निर्वाचनपछि प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ ।

अहिले संसद बैठक बस्ने गरिएको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सरकारले वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी भाडा लिएर चलाएको हो । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ ।

सम्झौतामा दुई–दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख गरिएको छ । प्रतिनिधिसभा ५ वर्ष र राष्ट्रियसभाका लागि लिइएको उक्त भवन गत वर्ष ६ वर्षसम्मका लागि भनेर सम्झौता गरिएको छ ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १५:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया