चितवन मेडिकल कलेजकाे पठनपाठन विद्यार्थी आन्दोलनका कारण १६ दिनदेखि ठप्प

चितवन– सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सकायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् ।

त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलन गरिरहेको छ । चन्दले सरकारले तोकेभन्दा बढी शुल्क चितवन मेडिकल कलेजले असुल गरेकै कारण आन्दोलन गर्नुपरेको बताए । शुल्क नघटेसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

मुख्य रुपमा एमबिबिएसमा सरकारले तोकेभन्दा १२ लाख बढी शुल्क कलेजले असुल गरेको चन्दको भनाइ छ । यता कलेज प्रशासनले भने सरकारले तोकेभन्दा बढी शुल्क नलिएको जिकिर गर्दै आएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले एमबिबिएसका लागि शैक्षिक शुल्क ४२ लाख तोकेको बताए ।

यसका अतिरिक्त आइओएमलाई जनाकारी गराएर परीक्षा शुल्क, इन्टर्नसिप शुल्क र समुदायमा जाँदा हुने खर्च गरी ६ लाख मात्र अतिरिक्त शुल्क लिइएको उनको भनाइ छ । शुल्कका विषयमा विवाद भएपछि प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य संसदीय समितिले अध्ययनसमेत गरेको भन्दै उनले सो समितिले दिएको प्रतिवेदन र सुझाबअनुसार अघि बढ्न आफूहरु तयार रहेको बताए ।

समितिले शैक्षिक शुल्कका अतिरिक्त कलेजले लिँदै आएको तीन शुल्कबाहेक रजिस्ट्रेसन, काउन्सिल शुल्क र सम्बन्धन शुल्क लिन पाउने उल्लेख गरेको भन्दै त्यसमा रहेर काम गर्न आफूहरु तयार रहेको न्यौपानेले बताए । अन्य संकायमा सरकारले शुल्क निर्धारण गर्नुअघि कलेज स्वयंले निर्धारण गरेको शुल्क बढी भए पनि तोकेपछि भने बढी नलिएको न्यौपानेले जानकारी दिए । पुरानो शुल्क घटाउन नमिल्ने भन्दै नयाँ शुल्क सरकारले तोकेभन्दा बढी नलिइने बताए ।

कलेज बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै उनले तत्काल आन्दोलन फिर्ता लिएर नियमित पठनपाठनमा सहयोग पुर्याउन आग्रह गर्दै आएको बताए । नेपालमा हाल १८ वटा मेडिकल कलेज सञ्चालनमा रहेकाे र सबै मेडिकल कलेजमा यस्ता समस्या भए पनि यहाँ मात्र आन्दोलन भएको उनले बताए । ‘सरकारले तोकेको शुल्कमा पढाउन तयार हुँदा अन्यत्र हुने हाम्रोमा मात्र आन्दोलन किन भइरहेको छ  हामी अन्योलमा छौँ ,’ न्यौपानेको गुनासाे छ ।





  • प्रकाशित मिति : असोज १, २०७६ बुधबार १६:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया