नेमकिपाकाे महाविधेशन शुक्रबारबाट भक्तपुर सल्लाघारीमा सुरु हुने

भक्तपुर– नेपाल मजदुर किसान पार्टीको सातौँ महाविधेशन शुक्रबारबाट सुरु हुने भएको छ । नेमकिपाका सचिव प्रेम सुवालले बिहीबार विज्ञप्तिमार्फत भोलि शुक्रबार बिहान ११ बजेबाट नेमकिपाको तीन दिने महाधिवेशन सुरु हुने जानकारी दिए । 

नेमकिपाका सचिव सुवालका अनुसार भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौंको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ र्याली सुरु गरी भक्तपुर सल्लाघारी चौरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गर्ने भएका छन् । 

नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध संघर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले देशमा अहिले नेकपाको दुईतिहाइको सरकार भए पनि देशको खुला सिमानाका कारण सुरक्षित हुन नसकेको टिप्पणी गर्दै भारतले एकतर्फी रुपमा बनाएको बाँध र तटबन्धको कारण वर्सेनी तराई भूमि डुबानमा परिरहेको, हाल अहिले १३ खर्बभन्दा बढीको व्यापार घाटा रहेको, भ्रष्टाचार नियन्त्रण हुन नसकेको, महँगी बढ्दै गएको, ७० लाख नेपाली वैदेशिक रोजगारीमा जान बाध्य भएकोले यसको समस्याको समाधानका लागि नेमकिपाले आवाज उठाउँदै आइरहेको बताए ।

यसअघि नेमकिपाको २०७० साल चैत २१ गते काठमाडौंको खुल्ला मञ्चमा छैटाैँ महाधिवेशन गरिएको थियो । पार्टी स्थापनाकालदेखि हालसम्म नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुँदै आएका छन् । हाल २५ सदस्यीय केन्द्रीयसमिति रहेको नेमकिपामा सातौँ महाधिवेशनले विधान संशोधनसहित विभिन्न दस्ताबेज पारित गर्दै नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।  





  • प्रकाशित मिति : असोज २, २०७६ बिहीबार १६:४०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया