अब कसले नेतृत्व गर्दैछ विवेकशील नेपाली दल ?

काठमाडौं– विवेकशील नेपाली दल नेतृत्व गरिरहेका उज्ज्वल थापाले जनकपुर अधिवेशनमा आफूले अध्यक्ष पदका लागि उम्मेदवारी नदिने बताएपछि अहिले विवेकशीलमा नेतृत्वको विषयमा गरमागरम बहस सुरु भएको छ । 

थापाले आठ वर्षयता विवेकशीललाई नेतृत्व प्रदान गरेका छन् । पहिले अभियानका रुपमा र पछि दल गठन गर्दा पनि थापाले नै यसलाई नेतृत्व गरे । केही अघि रवीन्द्र मिश्रको साझा पार्टीसँग एकिकरण गरेपछि पनि थापा नेतृत्वमा नै थिए । तर, मिश्रको दलका व्यक्तिहरुसँग लामो समय सहकार्य गर्न नसकेको भन्दै उनैले केही सदस्य लिएर नयाँ पार्टी गठन गरे– विवेकशील नेपाली दल । 

साझा पार्टीबाट फुटाएर विवेकशील नेपाली दल गठन गरेपछि यो पार्टीले केहीअघि रोल्पाको लिवाङमा नीति अधिवेशन गरेको थियो । त्यो अधिवेशनबाट पार्टीलाई समावेशी गरेर लैजाने नीति यो पार्टीले लिएको छ ।

तर, थापाले ‘अचानक’ आफू अब अध्यक्ष पदमा नउठ्ने बताएपछि पार्टीभित्र तरंग फैलिएको छ । विवेकशीलको उच्च स्रोतले जानकारी दिएअनुसार पार्टीमा अध्यक्षमा आफू उठ्ने हो भन्दै आधा दर्जन व्यक्तिले आफू समर्थक पार्टीका सदस्यहरुलाई जानकारी दिन थालेका छन् । तिनैमध्ये केहीले अरुको उम्मेदवारी फिर्ता हुने वा अर्को व्यक्ति ब्याक हुने भन्दै पनि आइरहेका छन् । 

विवेकशील नेपाली दलका सदस्यहरुले आफ्नो नेतृत्व छान्न पहिलो चरणको मतदान २५ असोजदेखि २ कार्तिकसम्म गर्दैछन् । अनलाइन मतदान गर्ने पनि व्यवस्था भएकाले विवेकशीलले यसपटक दुई चरणमा मतदान गर्ने योजना बनाएको छ । यसपटक विवेकशीलले विदेशमा रहेका आफ्ना सदस्यहरुले पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । मतदानबाट सदस्यहरुले ९९ पदका लागि पदाधिकारी छान्नेछन् । यसमा ६ पद पदाधिकारी लेभलका हुनेछन् । ती ६ पदमध्ये तीन जना महिला हुनैपर्ने व्यवस्था विवेकशीलले गरेको छ । 

यी तीन महिलामा काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी रन्जु दर्शना, कर्मा तामाङ, सुमित्रा गुरुङ र अजिता राईलाई विशेष प्राथमिकताका साथ हेरिएको छ । स्रोतका अनुसार रन्जुु दर्शनाले त विवेकशील नेतृत्व नै गर्ने भन्दै लबिइङ गर्न थालिसकेकी छिन् । यसमा उनले एउटा सर्त राखेकी छिन्– यसअघिका महासचिव गोविन्द नारायण दाइ उठ्नुभए, म छोड्छु, अन्यथा म आफैं अध्यक्षमा लड्नेछु । 



‘रन्जुले यो भावावेगमा आएर भनेकी हुन्,’ विवेकशीलको पदाधिकारीमा नै आफ्नो उम्मेदवारी दिन तयार रहेका एक सदस्यले भने, ‘उनी विवेकशील लिड गर्न सक्षम पनि छैनन् ।’

महासचिवमा चाहिँ कर्मा तामाङको सम्भावना बलियो भएको विवेकशीलका अर्का एक सदस्यले जनाए । त्यस्तै, महिलामा सुमित्रा र अजिता पनि अगाडि आउने सम्भावना छ । तर, यो सब हुँदा रन्जु दर्शनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिए उनी पराजित हुने सम्भावना बढेको छ । 



‘हिजो अवस्था त्यस्तै थियो,’ विवेकशीलमा रन्जुलाई अध्यक्षका रुपमा सदस्यहरुले नै अस्वीकार गर्ने बताउँदै एक सदस्यले भने, ‘अहिले समय फेरिएको छ । पार्टीका रुपमा विवेकशीललाई अगाडि बढाउने हो भने रन्जुलाई नेतृत्व दिनु हुँदैन, उनले त्यसलाई नेतृत्व गर्न सक्दिनन् ।’

जसरी रन्जु आफूलाई अबको अध्यक्षका रुपमा चित्रण गरिरहेकी छिन्, त्यसरी नै विवेकशीलका अर्का सदस्य शिव सत्यम् (शिव थापा) पनि आफूले अब विवेकशीलको नेतृत्व गर्ने बताउँदै सदस्यहरुसँग भोट माग्न थालिसकेका छन् । ‘स्वभाविक रुपमा अब मैले नेतृत्व गर्न पाउनुपर्छ,’ थापाले भन्न थालेका छन्, ‘हामीले लिवाङबाट जे नीति पारित गरेका छौँ, त्यसलाई नेतृत्वले अब संस्थागत गराउनु पर्छ । हामीसँग विवेकशीललाई पार्टीका रुपमा स्थापित बनाउन अब छोटो समय मात्र बाँकी छ । त्यसलाई सार्थक बनाउन पनि म नेतृत्वमा आउनु पर्छ ।’

थापाले चार वर्षे कार्यकालपछि आफूले पनि विवेकशीलको नेतृत्व हस्तान्तरण गर्ने कुरामा अहिले नै कन्भिन्स्ड भएको र त्यसपछि अर्को पुस्ताले विवेकशीलको नेतृत्वको दाबी गर्नु पर्ने बताउँदै आएका छन् ।

अध्यक्ष पदमा नै गोविन्द नारायणले आफ्नो उम्मेदवारी दिने पनि सम्भावना रहेको विवेकशीलका सदस्यहरु बताउँछन् । ‘अहिले उहाँ चुप हुनुहुन्छ, केही अघि अब म नेतृत्वमा बस्दिनँ भन्नुभएको थियो,’ एक सदस्यले भने, ‘त्यही आधारमा कुराहरु बाहिर आइरहेका छन् । तर, उहाँ अध्यक्ष भइदिए हुन्थ्यो भन्ने धेरैको चाहना छ ।’ अर्कोतिर, गोविन्द नारायणले पछिल्लो समय पनि आफू साइलेन्ट नै बस्ने बताउँदै आएका छन् ।

अर्का एकथरि मिलन पाण्डेले अध्यक्षमा दाबी गर्छन् भन्नेहरु पनि छन् । तर, उनलाई अध्यक्षका अन्य प्रत्याषीले उपाध्यक्षका उम्मेदवारका रुपमा चित्रण गरिरहेका छन् । उपाध्यक्षमा अजिता राईले पनि उम्मेदवारी दिने सम्भावना छ । अजिता अहिले पनि विवेकशीलमा उपाध्यक्ष छिन् ।

विवेकशीलको महासचिव पदमा पनि दुईभन्दा बढीले दाबी गर्ने सम्भावना देखिएको छ । महासचिवमा आफूले उम्मेदवारी दिने निर्देश सिलवाल र कर्मा तामाङले बताइसकेका छन् । स्विडेनबाट अध्ययन गरेर आएका निर्देश सिलवाल लमजुङका हुन् । विवेकशीलको नीति सचिवमा सन्जीव भट्टराई, कोषाध्यक्षमा सुमित्रा गुरुङले उम्मेदवारी दिने बहस पार्टी भित्र सुरु भएको छ ।

  • प्रकाशित मिति : असोज ३, २०७६ शुक्रबार ११:४२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया